टोकियो,जापान। जापानमा रहेका गल्कोटवासी नेपालीहरूको साझा सामाजिक संस्था गल्कोट समाज जापानले क्षेत्रीय तथा केन्द्रीय अधिवेशनको मिति तय गरेको छ।

संस्थाले जारी गरेको सूचनाअनुसार जापानभर सक्रिय रहेका सबै क्षेत्रीय समितिहरूको अधिवेशन सन् २०२६ जुन ३० तारिख एकै दिन सम्पन्न गरिनेछ। त्यस्तै, संस्थाको नवौँ केन्द्रीय अधिवेशन सन् २०२६ जुलाई २१ तारिख आयोजना गरिने भएको छ।

गल्कोट समाज जापानका महासचिव दिलीप कँडेलका अनुसार अधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ। साथै, संस्थाको भावी कार्ययोजना, संगठन विस्तार, संस्थागत सुदृढीकरण, पारदर्शिता, उत्तरदायित्व र समुदायको हितसँग सम्बन्धित विषयमा महत्वपूर्ण छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ।

समाजले जापानमा रहेका गल्कोटवासी तथा नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र एकताको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। स्थापनाकालदेखि नै समुदायको साझा संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको समाजको भनाइ छ।

संस्थाले हालसम्म प्राप्त गरेका उपलब्धि, सामाजिक प्रतिष्ठा र संस्थागत उचाइका पछाडि जापानमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथ, सहयोग, सद्भाव र विश्वास नै मुख्य आधार रहेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता व्यक्त गरेको छ।

साथै, विभिन्न समयमा आर्थिक, नैतिक तथा भौतिक सहयोग प्रदान गर्ने सहयोगदाता, शुभेच्छुक, सल्लाहकार, पूर्वपदाधिकारी, आजीवन सदस्य, साधारण सदस्य तथा जापानवासी नेपाली समुदायप्रति समाजले विशेष धन्यवाद व्यक्त गरेको छ।

अधिवेशनका अवसरमा संस्थाका वार्षिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिने भएकाले उपस्थित भई प्रतिवेदनको अध्ययन, समीक्षा तथा रचनात्मक सुझाव प्रदान गर्न सम्पूर्ण सदस्य तथा सरोकारवालालाई अनुरोध गरिएको छ। संस्थाको आगामी यात्रालाई अझ प्रभावकारी, परिणाममुखी र समुदायमैत्री बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको समाजले जनाएको छ।

गल्कोट समाज जापानले सम्पूर्ण सदस्य, शुभेच्छुक, सल्लाहकार, पूर्वपदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालालाई निर्धारित मितिमा उपस्थित भई अधिवेशनलाई भव्य, सभ्य र सफल बनाउन आह्वान गरेको छ।

अधिवेशनसम्बन्धी विस्तृत कार्यतालिका, स्थान, प्रतिनिधि चयन प्रक्रिया तथा अन्य आवश्यक जानकारी सम्बन्धित क्षेत्रीय समिति र केन्द्रीय सचिवालयमार्फत समयमै सार्वजनिक गरिने संस्थाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार