टोकियो,जापान। मध्यपूर्वको पछिल्लो तनावका कारण विश्व ऊर्जा बजारमा देखिएको असरबीच जापानकी प्रधानमन्त्री साने ताकाइचीले आगामी जी–७ शिखर सम्मेलनमा कच्चा तेल बजार स्थिर बनाउन ३ बुँदे प्रस्ताव राख्ने तयारी गरेकी छन्।

जी–७ शिखर सम्मेलन अर्को साता फ्रान्सको पूर्वी शहर एभियानमा हुँदैछ। सम्मेलनमा मध्यपूर्वको अवस्था, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा त्यसको प्रभावबारे छलफल हुने अपेक्षा गरिएको छ।

जापानले अघि सार्न लागेको पहिलो प्रस्तावमा ऊर्जा आपूर्तिको स्थिरताका लागि अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने र अनुचित निर्यात प्रतिबन्धको विरोध गर्दै स्वतन्त्र तथा पारदर्शी व्यापार सुनिश्चित गर्ने विषय समेटिएको छ।

दोस्रो प्रस्तावमा जापानले अघि बढाइरहेको एसियाली मुलुकहरूमा तेल भण्डारण क्षमता विस्तार गर्ने सहयोग र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँगको सहकार्यलाई जोड दिइनेछ।

तेस्रो प्रस्तावमा मध्यपूर्वलगायत तेल उत्पादक मुलुक र तेल उपभोक्ता मुलुकबीचको सहकार्य बलियो बनाउने विषय समावेश हुने बताइएको छ।

जापानले एसियाली मुलुकहरूलाई लक्षित गरी अघि सारेको वित्तीय सहयोगको ढाँचा “पावर एसिया” को अवधारणालाई अन्तर्राष्ट्रिय समुदायमा विस्तार गर्ने सोच पनि अघि सार्ने तयारी गरेको छ।

प्रधानमन्त्री ताकाइचीले आज हुने मध्यपूर्व अवस्थासम्बन्धी सम्बन्धित मन्त्रीहरूको बैठकमा यसबारे आफ्नो नीति सार्वजनिक गर्ने तयारी गरिरहेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार