टोकियो,जापान। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाको आयोजनामा हुन गइरहेको ‘प्रथम जापान लोक तारा २०२६’ तथा ‘अम्बर बिरही गुरुङ सांगीतिक साँझ’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। कार्यक्रम आज जुन १४ तारिख आइतबार दिउँसो २:३० बजेदेखि बेलुका ९ बजेसम्म टोकियोस्थित मेगुरो कुमिन सेन्टर मा भव्य रूपमा आयोजना हुँदैछ।

कार्यक्रमका मुख्य आकर्षणका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ लोक तथा दोहोरी गायक/सर्जक अम्बर बिरही गुरुङ को विशेष सांगीतिक प्रस्तुति रहनेछ। नेपाली लोकसंगीत क्षेत्रमा अमिट छाप छोड्न सफल गुरुङले आफ्ना दर्जनौँ कालजयी तथा लोकप्रिय गीतहरूमार्फत दर्शक/श्रोताहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ।

यसैगरी, प्रतिष्ठान जापान शाखाले आयोजना गरिरहेको ‘प्रथम जापान लोक तारा २०२६’ अन्तर्गत उत्कृष्ट पाँच प्रतिभाहरू तनुजा शाही, किरण प्रभात, केशव शर्मा, पार्वती आचार्य र आरती परियार बीच अन्तिम प्रतिस्पर्धा हुनेछ। फाइनल चरणमा उत्कृष्ट पाँच प्रतियोगीबीच प्रत्यक्ष (लाइभ) प्रस्तुति गराइनेछ भने निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा सोही मञ्चबाट विजेता, उपविजेता तथा अन्य नतिजा घोषणा गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव रामकृष्ण बम मल्ल रहनुभएको छ भने निर्णायकमा सूर्य खड्का र ज्योति लोहनी रहनुभएको छ। आयोजकका अनुसार निष्पक्ष र गुणस्तरीय मूल्याङ्कनमार्फत योग्य प्रतिभालाई उपाधि प्रदान गरिनेछ।

प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्र राज पौडेल ले जापानमा रहेका नेपाली समुदायबीच लोकसंस्कृति, भाषा, कला र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्दै नवप्रतिभाहरूलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, सहयोगी संस्था तथा व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रममा उपस्थित भई नेपाली लोकसंगीतको उत्सवमा सहभागी हुन अनुरोध गर्नुभयो।

कार्यक्रम तयारीबारे जानकारी दिँदै प्रतिष्ठान जापान शाखाका सचिव दिपक कंडेल ‘सफल’ ले सम्पूर्ण व्यवस्थापकीय, प्राविधिक तथा सांगीतिक तयारी सम्पन्न भइसकेको बताउनुभयो। उहाँका अनुसार कार्यक्रमलाई भव्य, व्यवस्थित र स्मरणीय बनाउन आयोजक टोली विगत केही महिनादेखि निरन्तर खटिरहेको छ र सम्पूर्ण तयारी अन्तिम रूपमा पूरा भइसकेको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव तथा ‘प्रथम जापान लोक तारा २०२६’ का निर्णायक संयोजक रामकृष्ण बम मल्ल ले प्रतियोगिताले जापानमा रहेका नेपाली नवप्रतिभाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताउनुभयो। उहाँले फाइनल चरणमा पुगेका पाँचै प्रतियोगी उत्कृष्ट रहेको उल्लेख गर्दै निष्पक्ष मूल्याङ्कनका आधारमा योग्य प्रतिभाले उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो। साथै लोकसंगीतका अग्रज स्रष्टा अम्बर बिरही गुरुङको सांगीतिक प्रस्तुति र नवप्रतिभाहरूको प्रतिस्पर्धाले कार्यक्रमलाई ऐतिहासिक तथा अविस्मरणीय बनाउने धारणा राख्नुभयो।

त्यसैगरी आर्थिक संयोजक तथा प्रतिष्ठान जापान शाखाका निवर्तमान अध्यक्ष महेन्द्र न्यौपाने ले कार्यक्रम सम्पन्न गर्न आवश्यक सम्पूर्ण आर्थिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको जानकारी दिनुभयो। कार्यक्रमको इभेन्ट पार्टनर येहे रेमिट(YEHEY Remit) मुख्य प्रायोजक जापान मनी एक्सप्रेस (JME) लगायत जापानमा रहेका विभिन्न संघसंस्था, व्यवसायी, शुभेच्छुक तथा नेपाली समुदायको उल्लेखनीय सहयोगका कारण कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न सम्भव भएको उहाँले बताउनुभयो।
लोकसंगीतका जीवित इतिहास अम्बर बिरही गुरुङको विशेष प्रस्तुति, उत्कृष्ट पाँच प्रतिभाबीचको प्रत्यक्ष अन्तिम प्रतिस्पर्धा, विजेता घोषणा तथा नेपाली कला, संस्कृति र लोकसंगीतको अनुपम संगम एकै मञ्चमा हुने भएकाले जापानस्थित नेपाली समुदायमाझ कार्यक्रमप्रति विशेष उत्साह र चासो बढ्दै गएको छ। आयोजकले समयमै उपस्थित भई कार्यक्रमको भरपुर आनन्द लिन सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार