टोकियो । जापानमा चामलको मूल्य साढे तीन वर्षपछि पहिलोपटक घटेको छ। पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेको चामलको मूल्यका कारण सरकारमाथि ठूलो दबाब परेको थियो।

आन्तरिक मामिला मन्त्रालयका मुद्रास्फीति तथ्यांक हेर्ने एक अधिकारीका अनुसार, लक्जरी जातको कोशीहिकारी बाहेकका चामलको मूल्य मे महिनामा अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले घटेको छ। यो सन् २०२२ नोभेम्बरपछि पहिलो गिरावट हो।

जापानमा सन् २०२४ र २०२५ मा चामलको मूल्य तीव्र रूपमा बढेको थियो। अत्यधिक गर्मी, आपूर्ति समस्याहरू र दुई वर्षअघि जारी गरिएको “मेगाक्वेक” चेतावनीपछि भएको आकस्मिक खरिदका कारण चामल अभाव र मूल्यवृद्धि भएको बताइएको थियो।

जीवनयापन खर्च बढ्नु, जनताको जीवनस्तर खस्किनु र भ्रष्टाचार काण्डहरूका कारण तत्कालीन सत्तारूढ दलप्रति मतदाताको असन्तुष्टि बढेको थियो। त्यसै पृष्ठभूमिमा शिगेरु इशिबाले प्रधानमन्त्री बनेको एक वर्ष नपुग्दै गत सेप्टेम्बरमा राजीनामा दिएका थिए।

हाल लोकप्रिय प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले चामलको मूल्य नियन्त्रण गर्न विभिन्न उपायहरू अपनाएको छ। तीमध्ये आपतकालीन सरकारी भण्डारमा रहेको चामल बजारमा ल्याउने निर्णय प्रमुख मानिएको छ।

टोकियोका ४८ वर्षीय जुन होङ्गोले मूल्य घट्नु “ठूलो राहत” भएको बताए। उनले भने, “अघिल्लो दिन धेरै समयपछि १० किलो चामल ४ हजार येनको दायरामा देखेँ, त्यसैले तुरुन्तै किनेँ।”

यद्यपि उनले अझै पनि चामलको मूल्य केही वर्षअघिको तुलनामा महँगो रहेको बताए। “उनीहरू सधैँ आपूर्ति शृंखलाको समस्या भन्दै आएका छन्। तर म चाहन्छु, यसको वास्तविक कारण गहिरोसँग अनुसन्धान गरियोस् र फेरि ठूलो मूल्यवृद्धि नहुने गरी मूल्य स्थिर बनाइयोस्,” उनले भने।

जापानमा चामल अभाव र मूल्यवृद्धिका पछाडि धेरै कारणहरू रहेको विज्ञहरूले बताएका छन्। सन् २०२३ को अत्यधिक तातो र सुख्खा गर्मीले देशभर चामल उत्पादनमा असर पारेको थियो। त्यसपछि केही व्यापारीहरूले भविष्यमा बढी नाफा कमाउने उद्देश्यले चामल थुपार्न थालेको विज्ञहरूको भनाइ छ।

सन् २०२४ मा सरकारले सम्भावित “मेगाक्वेक” बारे चेतावनी दिएपछि उपभोक्ताहरूले ठूलो मात्रामा चामल खरिद गरेका थिए। यद्यपि उक्त महाभूकम्प आएन, तर बजारमा चामलको माग अचानक बढ्दा आपूर्तिमा थप दबाब पर्‍यो।

यसका साथै आयातित खाद्यान्न महँगिँदा घरेलु चामलको माग बढेको थियो। जापानमा पर्यटक संख्या कीर्तिमानी स्तरमा पुगेपछि चामल उपभोग पनि बढेको विश्लेषण गरिएको छ।

तर विश्लेषकहरूले जापानको दशकौँ पुरानो धान खेतीयोग्य जमिन घटाउने नीतिलाई पनि समस्याको एउटा प्रमुख कारण मानेका छन्। त्यसमाथि चामल किसानहरू वृद्ध हुँदै गएको र उनीहरूका सन्तानले खेती सम्हाल्न खासै चासो नदेखाउँदा दीर्घकालीन रूपमा आपूर्ति चुनौती झन् गहिरिँदै गएको बताइएको छ।

चामलको मूल्य घट्नु उपभोक्ताका लागि राहत भए पनि बजार अझै स्थिर भइसकेको छैन। सरकारका लागि अब चुनौती भनेको मूल्य अस्थायी रूपमा मात्र घटाउने होइन, दीर्घकालीन रूपमा चामल आपूर्ति र मूल्यलाई स्थिर बनाउनु हुनेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार