टोकियो/जापान। करिब डेढ करोड जापानी येनको लगानीमा टोकियो र चिबा क्षेत्रको केन्द्र मानिने मिनामी ग्योतोकुमा जमुना कम्पनी लिमिटेडको दशौँ शाखा तथा ढुङ्गेधारा ब्रान्डको चौथो शाखा ‘ढुङ्गेधारा नेपाली डाइनिङ तथा पार्टी प्यालेस’ सञ्चालनमा आएको छ।

तोजाइ लाइनको मिनामी ग्योतोकु स्टेशनबाट करिब एक मिनेटको पैदल दूरीमा अवस्थित पार्टी प्यालेसमा अत्याधुनिक साउण्ड सिस्टम, फराकिलो तथा सुविधासम्पन्न हल, आधुनिक सजावट र करिब दुई सय जनासम्म अट्ने क्षमता रहेको कम्पनीले जनाएको छ।

नेपाली समुदायलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस पार्टी प्यालेसमा विवाह, व्रतबन्ध, पास्नी, जन्मदिन, पारिवारिक जमघट, कम्पनी कार्यक्रम, सांस्कृतिक कार्यक्रम, सेमिनारलगायत विभिन्न कार्यक्रम आयोजना गर्न सकिने व्यवस्था गरिएको छ।

उद्घाटन समारोह नेपाली समुदायका अग्रज, समाजसेवी, व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शुभेच्छुक तथा स्थानीय नेपालीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

जमुना ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजु कँडेलले ग्राहक, शुभेच्छुक तथा नेपाली समुदायको विश्वास र साथकै कारण १३ वर्षअघि एउटा रेस्टुरेन्टबाट सुरु भएको जमुना ग्रुपको यात्रा आज बहुआयामिक व्यवसायमा विस्तार भएको बताउनुभयो।

उहाँका अनुसार हाल जमुना ग्रुप अन्तर्गत रेस्टुरेन्ट, हाउस क्लिनिङ सेवा, हलाल फुड सप्लायर्सलगायत विभिन्न व्यवसाय सञ्चालनमा छन्। कम्पनीले जापानका विभिन्न क्षेत्रमा पाँच सयभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको र आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो।

कँडेलले समस्यामा परेका नेपाली, अस्थायी बसोबास अनुमति प्राप्त व्यक्ति तथा अध्ययन पूरा गरेपछि रोजगारदाता कम्पनी नपाएर नेपाल फर्किनुपर्ने अवस्थाका विद्यार्थीहरूलाई रोजगारी र नयाँ अवसर उपलब्ध गराउने उद्देश्यले कम्पनीले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।

उहाँले जापानजस्तो अनुशासन, स्वच्छता र गुणस्तरलाई उच्च प्राथमिकता दिने देशमा ग्राहकको विश्वास जित्नु ठूलो चुनौती भए पनि इमानदार श्रम, गुणस्तरीय सेवा र ग्राहकप्रतिको प्रतिबद्धताका कारण कम्पनीले निरन्तर सफलता हासिल गर्न सकेको बताउनुभयो।

कँडेलले कुनै पनि गुनासो, सुझाव वा जिज्ञासा भए सामाजिक सञ्जालमा चर्चा गर्नुको सट्टा सिधै कम्पनी व्यवस्थापनसँग सम्पर्क गर्न आग्रह गर्दै सबै विषय आपसी सम्मान, विश्वास र संवादमार्फत समाधान गर्न कम्पनी तयार रहेको बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार