टोकियो/जापान।नेपालीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा दिदीबहिनीबीचको आत्मीयता, माइतीप्रतिको माया र नेपाली परिवारको जीवनकथा समेटिएको नयाँ तीज गीत ‘तिन बहिनी’ सार्वजनिक भएको छ।

जापानमा केहि समय अघि सम्पन्न भएको प्रथम लोकताराका ३ प्रमुख प्रतियोगीहरुको स्वर,लोकप्रिय गायक तथा संगितकार रामकृष्ण बम मल्ल र चर्चित सर्जक रमेश बिजीको सहकार्यमा तयार गित -“तीन बहिनी”ले तीजको मौलिकतालाई गहनरुपमा प्रस्तुत गरेको छ।

तीन दिदीबहिनीको जीवन र उनीहरूको माइतीसँगको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा विवाहपछि आ–आफ्नो घरगृहस्थी, जिम्मेवारी र व्यस्ततामा रहेका दिदीबहिनी तीजका अवसरमा माइतीघरमा भेटिँदाको खुसीलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

गीतले तीजलाई केवल नाचगान र मनोरञ्जनको पर्वका रूपमा नभई विवाहित चेलीहरू माइतीमा भेला भएर आफ्ना दुःख–सुख, अनुभव र भावना साट्ने नेपाली परम्परासँग जोडेर प्रस्तुत गरेको छ। माइतीको आँगन, आमाबुबाको स्नेह तथा दिदीबहिनीबीचको आत्मीय सम्बन्ध गीतको मुख्य भाव बनेको छ।

आधुनिक समयसँगै नेपाली परिवारको जीवनशैलीमा आएको परिवर्तनलाई पनि गीतमा समेटिएको छ। कोही विदेशमा त कोही गाउँघरमै आफ्नो परिवार, खेतीपाती तथा दैनिक जिम्मेवारीमा व्यस्त भए पनि प्रविधिले एकअर्कासँग जोडिराखेको वर्तमान अवस्थालाई दृश्यमा उतारिएको छ। दूरी र व्यस्तता जति भए पनि माइतीको माया तथा बाल्यकालका सम्झना कहिल्यै नमेटिने सन्देश गीतले दिएको छ।

गीतमा तनुजा शाही, आरती परियार, पार्वती आचार्य र रामकृष्ण बम मल्लको स्वर रहेको छ। रमेश बि.जीका शब्दमा रामकृष्ण बम मल्लले संगीत भरेका छन् भने म्युजिक भिडियोको निर्देशन तथा सम्पादन विष्णु शर्माले गरेका छन्।

पारम्परिक तीज गीतको मौलिक भावलाई जोगाउँदै वर्तमान नेपाली समाज र पारिवारिक परिवेशलाई जोड्नु ‘तिन बहिनी’को विशेषता बनेको छ। गीतका शब्द, संगीत र दृश्यले दिदीबहिनीको सम्बन्धसँगै माइती र चेलीबीचको भावनात्मक सम्बन्धलाई उजागर गरेका छन्।

‘तिन बहिनी’ले तीजको सांस्कृतिक मौलिकतासँगै पारिवारिक प्रेम, पुनर्मिलन र माइतीप्रतिको चेलीको गहिरो भावनालाई संगीतमार्फत प्रस्तुत गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार