ठमेलमा कहिले भारी बोके, होटलमा भाँडा माझे, जापानमा घर भत्काउने मजदुरी गरे र आज जापानमा आधा दर्जन व्यवसाय सम्हाल्दै नेपालमा लगानी विस्तार गरिरहेका छन् केशव अधिकारी ।

धादिङको एउटा सामान्य गाउँबाट काठमाडौं छिरेका १३- १४ वर्षका किशोरसँग ठूलो पुँजी थिएन, न त उनिसंग भविष्यको स्पष्ट खाका नै। थियो त केवल अभावले चाँडै सिकाएको मेहनत र जीवन बदल्ने चाहना। – ती किशोर थिए- केशव अधिकारी।

आज उनी जापानमा सफल व्यवसायीका रूपमा चिनिन्छन्। ४ वटा जापानी रेस्टुरेन्टसहित नेपाली समुदायलाई लक्षित गरी सञ्चालन गरिएको ‘चौतारो’ र अन्य थुप्रै व्यवसायमा उनको लगानी छ। उनका व्यवसायले झण्डै ४ दर्जन मानिसहरुलाई प्रत्यक्ष रोजगारी दिएका छन्। नेपालमा पनि घरजग्गा, कृषि र पर्यटन क्षेत्रमा लगानी गरिरहेका अधिकारीको कथा भने सफलताको चमकबाट होइन, धादिङको गाउँ र ठमेलका गल्लीमा गरेको संघर्षबाट सुरु हुन्छ।

अधिकारी आफ्नो विगत सम्झँदै भन्छन् – निम्न मध्यम परिवार,जग्गा जमिन त थियो,तर पनि आर्थिकरुपमा त्यस समय पारिवारिक अवस्था सहज थिएन। त्यहि बेला सानो उमेरमै धादिङबाट काठमाडौं आएँ, र शिवपुरी स्कुलमा पढ्न थालेँ। तर पढाइसँगै पेट र भविष्यको चिन्ता पनि थियो। त्यसपछि २०४७/०४८ सालतिरै ठमेल क्षेत्रमा काम गर्न सुरु गरेँ। उमेर त्यस्तै १३–१४ वर्ष थियो होला। गाउँबाट आएको केटो,किशोर उमेर के नै पो जानिएको थियो र – सुरुवात भारी बोक्ने कामबाट भयो। त्यसपछि होटलमा भाँडा माझ्ने, कोठा मिलाउनेलगायत जे काम पाइन्थ्यो, त्यही गरेँ।”

औपचारिक अध्ययनलाई अगाडी बढाउन नसकेका अधिकारीले कामको सिलसिलामा ठमेलमा विदेशी पर्यटकको चहलपहल देखिरहन्थे,सोहि समयमा उनको ध्यान जापानी पर्यटकतर्फ गयो। उनले जापानी भाषा सिक्ने निर्णय गरे। त्यही निर्णय उनको जिवनको टर्निङ प्वाईन्ट बन्यो।

जापानी भाषाले खोलिदिएको नयाँ ढोकाोः
जापानी भाषामा दोहोरो कुराकानी गर्न सक्ने भएपछि अधिकारीले जापानी पर्यटकलाई नेपाल घुमाउन थाले। जापानी दूतावाससँग समन्वय गरेर समेत विभिन्न काम गर्ने अवसर पाए। ट्रेकिङ गाइडका रूपमा काम गर्दागर्दै उनको जापानसँगको सम्बन्ध गहिरिँदै गयो।

सन् १९९८ मा, करिब २० वर्षको उमेरमा, उनले पहिलोपटक जापान टेक्ने अवसर पाए। जापान पुग्नु नै उनको लक्ष्य थिएन। बरु जापानसंग जोडिएको अनुभवलाई नेपालमा समेत व्यवसाय विस्तारमा उपयोग गरे।ट्रेकिङ गाइडको अनुभवका आधारमा ट्रेकिङ तथा ट्राभल एजेन्सी खोले। सन् २००० मा सुरु भएको व्यवसायले राम्रो गति लियो। कुनै समय उनको कम्पनीमा ३०–३२ जनासम्म कर्मचारी थिए।

उनी जापान आउजाउ गरिरहन्थे, तर यतै बस्ने सोच थिएन। कारण- नेपालमै व्यवसाय राम्रो चलेको थियो।तर समय एकनासले कहाँ चल्थो र,नेपालमा माओवादी द्वन्द उत्कर्षमा पुग्दा पर्यटन व्यवसाय नराम्रोसंग प्रभावित भयो। त्यस पश्चात उनको जिवनले पुनः नयाँ मोड लियो र सन २००३ मा फेरि जापान आईपुगे ।

पहिले पर्यटक बनेर आएका अधिकारी यस पटक रोजगारी खोज्ने आप्रवासीका रूपमा आईपुगेका थिए। उनको लागि यो नितान्त फरक र चुनौती पुर्ण थियो।

नेपालमा अरुलाई रोजगारी दिएका अधिकारी जापानमा आफैं काम खोज्दै हिँड्न थाले । सुरुमा कामसमेत पाएनन्। पछि उनले जापानमा घर भत्काउने मजदुरको काम गरे। केही हप्तापछि तरकारीसम्बन्धी क्षेत्रमा काम पाए। त्यसपछि सुरु भयो झण्डै एक दशक लामो कठोर श्रमको यात्रा।

अधिकारी सम्झन्छन् – “बिहान काममा जाँदा घाम देखिँदैनथ्यो, राति फर्किँदा घाम अस्ताइसकेको हुन्थ्यो,महिनौँ घामै नदेखि बिते”

मजदुरबाट व्यवसायको यात्राः
जापानमा करिब एक दशक अरूका लागि काम गरेपछि अधिकारीले निर्णय गरे- अब आफ्नै व्यवसाय गर्ने। एउटा सानो इन्डियन रेस्टुरेन्टबाट उनको जापानी व्यवसायिक यात्राको थालनी भयो।

सन् २०१४ देखि उनी निरन्तर आफ्नै व्यवसायमा सक्रिय छन्। पहिलो रेस्टुरेन्ट खोलेको करिब एक वर्षपछि जापानी रेस्टुरेन्ट सञ्चालनमा ल्याए।एकबाट दुई, दुईबाट तीन हुँदै,एक समय उनका रेस्टुरेन्टको संख्या नौसम्म पनि पुग्यो। तर कोभिड महामारीपछि केही रेस्टुरेन्ट बिक्री गरे। यद्यपी अझै आधा दर्जन जति रेस्टुरेन्टहरु संचालन गरिरहेका छन् ।

टोकियोको कामतामा नेपाली समुदायलाई लक्षित गर्दै ‘चौतारो’ रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्। जो नेपाली समुदायका विवाह, व्रतबन्धदेखि विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रमहरुका लागि लोकप्रिय छ। चौतारोमा नेपाली खानाका विविध परिकार उपलब्ध छन्। आवश्यकताअनुसार पुरोहितदेखि पञ्चे बाजासम्मको व्यवस्था गर्ने गरेको बताउँछन् ।

जापानमा मात्रै होईन नेपालमा पनि लगानी विस्तारः
अधिकारी जापानमा व्यवसाय विस्तारमा मात्रै सीमित छैनन् । केहि वर्षदेखि कमाइको एक भाग उनले नेपालमै लगानीकारुपमा फर्काएका छन् ।

अधिकारीले निकट भविष्यमै काठमाडौंको ठमेलमा एउटा स्टार होटल संचालन गर्ने योजनासहित घरजग्गा खरिद गरेका छन्। हाल निर्माण प्रकृया अघि बढिरहेका छन् । उनले धादिङमा कृषि फार्मसमेत सुरु गरेका छन् भने काठमाडौंमा ट्राभल एजेन्सी सञ्चालनमा छ।

जापानमा घर भाडामा लगाउँछन्ः
जापान जस्तो मुलुकमा घर भाडा तिरेर व्यवसाय गर्ने मात्रै होईन अधिकारी आफ्नाहरु घरहरु जापानीहरुलाई भाडामा दिइरहेका छन्।

कुनै समय,रोजगारी खोज्दै भौतारिएको नेपाली युवक आज,जापानको टोकियो तथा कानागावामा एकपछि अर्को व्यवसाय विस्तार गरिरहेका छन् । हालसालै,योकोसुका सहरको अमेरिकन सैन्य क्याम्प नजिकै अमेरिकन तथा अन्य विदेशी लक्षित चु हाई बल नामक ड्रिंक्स बार संचालनमा ल्याएका छन्।

जापानमा आउने नेपालीहरुलाई सन्देशः
जापानमा विताएको २३ वर्ष र यी समयमा गरिएका संघर्ष र प्राप्त सफलताहरुको पछाडी सहनशिलता सबैभन्दा महत्वपूर्ण रहेको बताउँछन् । उनि भन्छन् जापानमा सफल हुन गामन(सहनशिल भएर)गरेर,निरन्तर कर्म गर्नुपर्छ। यहाँ अत्यन्तै कठिन परिस्थितीहरु आउँछन् तर त्यसलाई पनि सहेर निरन्तर अघि बढे एक न एक दिन आफ्नो लक्षमा पुगिन्छ।

उनि भन्छन- “मैले १० वर्ष बाआमा, दसैं–तिहार केही नभनी दुःख गरेँ। महिनौँ घामै नदेखिकन दिनहरु बिते,आज त्यसैले मलाई यहाँसम्म पुर्‍याएको छ।”

अन्ततःउनको यात्राले एउटा कुरा देखाउँछ- गन्तव्य बदल्न कहिलेकाहीँ ठूलो अवसरभन्दा पनि एउटा सानो निर्णय पर्याप्त हुन्छ। अधिकारीका लागि त्यो निर्णय थियो- संघर्षकै बीच जापानी भाषा सिक्नु।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार