टोकियो/जापान। नेपालमै उत्पादित ‘हाइलाइफ’ ब्रान्डका खाद्यवस्तुले जापानी बजारमा आधिकारिक रूपमा प्रवेश पाएका छन्। जापानमा हाइलाइफका उत्पादनको आधिकारिक बिक्री तथा वितरणको जिम्मेवारी पूर्ण ट्रेडिङ कम्पनीले लिएको छ। यसबारे सोमबार साँझ टोकियोमा आयोजित विशेष कार्यक्रममा औपचारिक जानकारी गराइएको हो।

पूर्ण ट्रेडिङका सञ्चालक टिका श्रेष्ठका अनुसार नेपाली उत्पादनलाई जापानी बजारमा प्रवर्द्धन गर्नुका साथै जापानमा बसोबास गर्ने नेपालीलाई आफ्नै मौलिक स्वाद उपलब्ध गराउने उद्देश्यले हाइलाइफका उत्पादनको बिक्री तथा वितरण सुरु गरिएको हो। श्रेष्ठका अनुसार पूर्ण ट्रेडिंगले केहि वर्षअघिदेखिनै हाईलाईफका यि उत्पादनहरु जापानमा आयत तथा विक्की वितरण गर्दै आएको छ ।

“नेपाली उत्पादनलाई जापानको बजारमा स्थापित गर्दै यहाँ बसोबास गर्ने नेपालीलाई स्वदेशी स्वाद पस्किने हाम्रो प्रयास हो,” श्रेष्ठले भने, “आगामी दिनमा जापानी उपभोक्तासम्म पनि नेपाली खाद्यवस्तुको गुणस्तर र मौलिकता पुर्‍याउने लक्ष्य राखेका छौँ।”

यसैगरी, जापान भ्रमणमा रहेका हाइलाइफ कम्पनीका अध्यक्ष अम्बिका पौडेलले ‘जहाँ–जहाँ नेपाली, त्यहाँ नेपाली उत्पादन’ भन्ने उद्देश्यसहित नेपाली मौलिक खाद्य परिकार तथा स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिरहेको बताए।

उनले विदेशमा रहेका नेपालीलाई स्वदेशी स्वादसँग जोड्नुका साथै नेपालमा उत्पादित गुणस्तरीय खाद्यवस्तुलाई विश्वबजारमा परिचित गराउनु कम्पनीको प्रमुख लक्ष्य रहेको उल्लेख गरे।

जापानी बजारमा विशेषगरी चिउरा, कोदोको पिठो, कर्णालीमा उत्पादित सिमी, विभिन्न प्रकारका दाललगायत नेपाली मौलिक खाद्यवस्तु बिक्री तथा वितरण गरिने जनाइएको छ। यससँगै हाइलाइफका अन्य स्वास्थ्यवर्द्धक तथा प्याकेटबन्द खाद्य सामग्रीसमेत क्रमशः जापानी बजारमा उपलब्ध गराउने तयारी गरिएको छ।

पूर्ण ट्रेडिङले जापानभर रहेका नेपाली तथा एसियाली खाद्यवस्तु बिक्री गर्ने पसल, रेस्टुरेन्ट र अन्य व्यावसायिक प्रतिष्ठानमार्फत हाइलाइफका उत्पादन उपभोक्तासम्म पुर्‍याउने योजना बनाएको जनाएको छ।

हाइलाइफ नेपालमा उत्पादन हुने खाद्यवस्तुको स्वदेशी ब्रान्ड हो। कम्पनीले चिउरा, ओट्स, कर्नफ्लेक्स, सोया चंक्स, कोदोको पिठो, दाल तथा गेडागुडीलगायत विभिन्न खाद्य सामग्री उत्पादन र बिक्री गर्दै आएको छ। जापानी बजारमा यसको औपचारिक प्रवेशले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा निर्यात विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार