टोकियो, जापान। धादिङ समाज जापानले हालको विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै पूर्वनिर्धारित बीबीक्यू तथा तीज कार्यक्रम स्थगित गरी बाढी प्रभावितको राहत तथा सहयोगमा केन्द्रित हुने निर्णय गरेको छ।

समाजका अध्यक्ष विमल श्रेष्ठका अनुसार बिहीबार बसेको अनलाइन बैठकमा सहभागी पदाधिकारी तथा सदस्यहरूको सुझाव र छलफलपछि यसअघि आयोजना गर्ने भनिएको बीबीक्यू तथा तीज कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय गरिएको हो।

बैठकले यसअघि धादिङ जिल्ला अस्पताललाई सहयोग गर्ने उद्देश्यले तय गरिएको कार्यक्रमसमेत तत्कालका लागि स्थगित गर्दै अहिलेको परिस्थितिमा विपद् प्रभावित नागरिकको राहतलाई प्राथमिकता दिने निर्णय गरेको छ।

यसका लागि धादिङ समाज जापानले आफ्नो तर्फबाट प्रारम्भिक रूपमा ५ लाख जापानी येन सहयोग गर्ने भएको छ। यससँगै जापानमा रहेका धादिङवासी तथा अन्य सहयोगीहरूबाट थप आर्थिक राहत संकलन गरी प्रभावित क्षेत्रमा सहयोग पुर्‍याइने समाजले जनाएको छ।

संकलित रकम तथा आवश्यक सहयोगलाई प्रभावकारी रूपमा प्रभावितसम्म पुर्‍याउन जिल्ला आपत्कालीन संयन्त्रसँग समन्वय गरेर राहत परिचालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।

समाजले विपद्को यस कठिन घडीमा प्रभावित परिवारको साथमा उभिन जापानमा रहेका सम्पूर्ण धादिङवासी, संघसंस्था तथा सहयोगी समुदायलाई राहत अभियानमा साथ, सहयोग र एकता प्रदर्शन गर्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार