टोकियो/जापान। नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको सहयोगका लागि जापानमा कार्यरत एक नेपाली युवाको पहलमा करिब २० वटा सुपरमार्केटमा राहत रकम संकलन अभियान सञ्चालन हुने भएको छ।

जापानमा कार्यरत,सामाजिक कार्यमा समेत सक्रिय नेपाली युवा सरोज भुषालको पहलमा उनी कार्यरत कम्पनी शिनानोयाको स्वीकृतिपछि कम्पनीअन्तर्गतका करिब २० वटा सुपरमार्केटमा सहयोग रकम संकलनका लागि ‘बोकिनबाको’ अर्थात् दान पेटिका राखिएको छ।

भुषालले नेपालमा बाढी तथा विपदबाट ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावितहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले आफू कार्यरत कम्पनीसमक्ष राहत संकलन अभियान सञ्चालन गर्न प्रस्ताव गरेका थिए। कम्पनीले उक्त प्रस्तावलाई स्वीकार गर्दै आफ्ना सुपरमार्केटहरूमा दान पेटिका राख्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।

भुषालका अनुसार अभियान आजदेखि सुरु भई करिब एक महिनासम्म सञ्चालन हुनेछ। उनले भने, “आफूले काम गर्ने कम्पनीमा अनुरोध गरेर नेपालका बाढी तथा विपद् प्रभावितहरूका लागि राहत संकलन अभियान सञ्चालन गर्न लागेको हुँ। कम्पनीको स्वीकृतिपछि आज (अगस्ट २९ )देखि करिब २० वटा सुपरमार्केटमा एक महिनासम्म दान पेटिका राख्ने व्यवस्था मिलाएको छु। आशा छ, पक्कै राम्रो सहयोग जुट्नेछ।”

कम्पनीले जारी गरेको सूचनाअनुसार नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा अगस्ट २६ मा आएको ठूलो बाढी तथा पहिरोबाट प्रभावितहरूको आपतकालीन सहयोगका लागि अभियान सञ्चालन गर्न लागिएको हो। संकलित सम्पूर्ण रकम नेपाल सरकारको विपद् व्यवस्थापनसम्बन्धी खातामार्फत प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, खाद्यान्न तथा आश्रयस्थललगायतका सहयोगमा प्रयोग हुने उल्लेख गरिएको छ।

राहत संकलन अभियान सेप्टेम्बर ३० सम्म सञ्चालन गर्ने कम्पनीको सूचनामा उल्लेख छ।

नेपालमा विपद् आएपछि जापानस्थित नेपाली संघसंस्था तथा समुदायले विभिन्न माध्यमबाट सहयोग अभियान सञ्चालन गरिरहेका बेला जापानी कम्पनी र त्यहाँका ग्राहकलाई समेत जोड्ने गरी गरिएको भुषालको यो पहलले राहत सहयोगको दायरा थप फराकिलो बनाउने अपेक्षा गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार