टोकियो/जापान। नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एभरेस्ट इन्टरनेसनल स्कुल, जापान परिवारले जापानी येन ८८८,८४८ संकलन गरी नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ।

जापान रेमिट फाइनान्स कम्पनी लिमिटेडमार्फत पठाइएको उक्त रकम विनिमयपश्चात् नेपाली रुपैयाँ ८४८,८४९ बराबर रहेको छ। सहयोग रकम विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी, सञ्चालक, संरक्षक तथा शुभेच्छुकहरूको स्वैच्छिक सहभागिताबाट संकलन गरिएको हो।

विपद्को कठिन घडीमा मातृभूमिप्रतिको जिम्मेवारी, मानवीय संवेदना र ऐक्यबद्धताको भावनाबाट प्रेरित भई उक्त सहयोग अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

एभरेस्ट इन्टरनेसनल स्कुल, जापान केवल पठनपाठन गर्ने शैक्षिक संस्था मात्र नभई नेपाल र जापानबीचको शैक्षिक तथा सांस्कृतिक कूटनीतिलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण सेतुका रूपमा क्रियाशील छ। नेपाली भाषा, संस्कृति, पहिचान र मूल्यमान्यताको संरक्षण गर्दै दुवै देशबीच आपसी समझदारी, सहकार्य र मित्रता विस्तार गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको छ।

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कक्षा १२ सम्म सञ्चालन स्वीकृति प्राप्त एभरेस्ट इन्टरनेसनल स्कुल, जापान नेपालबाहिर सञ्चालित एकमात्र नेपाली विद्यालय हो। विद्यालय जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय (MEXT) बाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय विद्यालय हुनुका साथै क्याम्ब्रिज इन्टरनेसनल एजुकेसनमा समेत आबद्ध छ।

विद्यालयले सहयोग अभियानमा सहभागी सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी, सञ्चालक, संरक्षक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै संकलित रकमले विपद् प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

विद्यालय परिवारले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको कामना गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार