विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने सरकारी महत्वाकांक्षी अभियान असफलप्रायः भएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विदेशमा कार्यरत नेपाली वैज्ञानिकको सीप, दक्षता र अनुभव स्वदेशमा उपयोग गर्न भन्दै अघिल्लो वर्ष सुरु गरेको अभियानअन्तर्गत दुई जना मात्र वैज्ञानिक स्वदेश फर्केर काम गरिरहेका छन्। नास्टले पहिलोपटक ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ अभियान सञ्चालन गरेको थियो।
सरकारको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत नास्टले अघिल्लो वर्षको अन्त्यतिर लोकप्रिय नारा दिएर सुरु गरेको यो कार्यक्रमले निकै चर्चा पाए पनि विदेशमा कार्यरत वैज्ञानिकलाई भने आकर्षित गर्न सकेन। नास्टले विदेशमा कार्यरत वा विदेशबाट फर्किएको एक वर्ष पूरा नभएका वैज्ञानिकलाई विज्ञानका क्षेत्रमा अनुसन्धानमा लगाउने जनाएको थियो।
नास्टका अनुसार १९ जनाले आवेदन दिए पनि अन्तिममा चार जना मात्र छनोट गरिएको थियो। तीमध्ये दुई जना नास्टमै आएर काम गरिरहेका छन् भने दुई जना छनोट भए पनि नेपाल नफर्किएको नास्टले जनाएको छ। नास्टको कार्यक्रमअन्तर्गत एक दशकदेखि दक्षिण कोरियामा कार्यरत डा. माधव न्यौपाने र डा. लक्ष्मीप्रसाद थापा फर्किएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन्।
नास्टका उपकुलपति डा. जीवराज पोखरलले विदेशमा रहेका नेपाली वैज्ञानिकको क्षमतालाई उपयोग गर्ने नीतिअनुसार यो कार्यक्रम सुरु गरिए पनि अपेक्षाकृत सफलता पाउन नसकेको स्विकारे। उनले भने, ‘उहाँहरूको सीप र अनुभवलाई आफ्नै देशमा उपयोग गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेका थियौं, सोचेजस्तो परिणाम आएन।’
पछिल्लो समय नेपालबाट वैज्ञानिक पलायन बढेकाले नास्टले यस्तो कार्यक्रम ल्याएको थियो। सीमित साधन स्रोतका कारण पनि वैज्ञानिकलाई आकर्षण गर्न नसकिएको नास्टको निष्कर्ष छ। सरकारले उक्त कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन गरेको थियो। ‘हामीसँग बजेट नै कम थियो, नास्टमा कार्यरत वैज्ञानिक साथीहरूले पाए जति नै सेवा सुविधा दिने हो’, उपकुलपति पोखरेलले भने, ‘तर विदेशमा कार्यरत साथीहरूको अपेक्षा बढी देखियो।’
सरकारले स्वदेश फर्किका वैज्ञानिकलाई उपसचिव तहको सुविधा दिएको जनाएको छ। विदेशमा राम्रो सेवा सुविधा उपभोग गरिरहेकालाई सरकारी सुविधाले आकर्षण गर्न नसकेको नास्टमै कार्यरत वैज्ञानिकको ठहर छ। नास्टले दीर्घकालीन योजनासाथ नभई तत्काल चर्चाका लागि हचुवामा कार्यक्रम ल्याएको उनीहरूको दाबी छ।
नाम उल्लेख नगर्ने सर्तमा नास्टका एक वैज्ञानिकले भने, ‘यो कार्यक्रम साँच्चिकै वैज्ञानिकलाई स्वदेश फर्काउन भनी ल्याइएकै होइन, आफ्नो प्रचार गर्न र पपुलारिटीका लागि मात्र ल्याइएको हो।’
उपकुलपति पोखरेलले विश्वका अन्य देशमा पनि वैज्ञानिकलाई स्वदेश फर्काउने अभियान सञ्चालन हुने गरेकाले आफूहरूले अनुसरण गरेको दाबी गरे। नाष्टले अभियान सफल बनाउन दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने कोरियाबाट फर्किएका वैज्ञानिक न्यौपानेको सुझाव। अधिकतम एक वर्षका लागि मात्र नभई नास्टले स्वदेशमै वैज्ञानिकलाई कामको सुनिश्चितता गर्न सके विदेशमा रहेका वैज्ञानिक देश फर्किन तयार हुने उनको भनाइ छ।
नास्टले फर्किएका वैज्ञानिकलाई अधिकतम एक वर्ष मात्र अनुसन्धानको काम लगाउने गरेको छ। न्यौपाने भन्छन्, ‘एक वर्ष त नास्टले काम दिन्छ, त्यसपछि के गर्ने भन्ने टुंगो छैन। फेरि विदेशै जानुपर्ने भएकाले धेरैलाई यो अभियानप्रति रुचि नजागेको हो।’
अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




