बुटवल : हत्या र असुलीका फरार अभियुक्त चर्चित गुन्डा नाइके मनोज पुनको प्रहरी मुठभेडमा बुधबार बिहान मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका–४, भवानीपुरको सानो पुलछेउमा पुनसँगै सोमबहादुर आलेको मृत्यु भएको हो। पाल्पा कारगारमा पाँच वर्ष कैद भुक्तान गरी पुनः अपराधमै फर्किएका आले पुन समूहकै सार्पसुटर हुन्।
प्रहरीले यी दुई अभियुक्तको मुठभेडमा मृत्यु भएको दाबी गरेको छ। तर, पुनलाई खोज्न भारतको गोवा पुग्नु, केही दिनभित्रै पक्रिइँदै छ भन्ने सूचना बाहिर आउनु र इन्काउन्टरमा मार्ने योजनाको प्रहरीभित्रै चर्चा हुनुले यो घटना मुठभेड नभई ‘सुनियोजित’ रहेको आशंका उत्पन्न गराएको छ।
माघ अन्तिम सातादेखि प्रहरीले मनोज पुनको अपराधको जालो पूर्णरूपमा फाट्ने दाबी गरिरहेको थियो। रुपन्देहीको प्रहरी प्रमुख श्याम ज्ञवालीले पुन नेपाल प्रवेश गरेको सूचनाका आधारमा अनुसन्धान टोलीले सूक्ष्म रूपमा खोजी गर्दा मुठभेड भएको बताए। ‘उसलाई पक्रने प्रयास थियो, प्रहरीमाथि नै गोली प्रहार गरेपछि हामीले पनि हान्नुप¥यो’, उनले विश्वस्त पार्दैै थपे, ‘अन्य आशंका र हल्लाका पछि लाग्नु आवश्यक छैन।’
मनोज पुन ०७३ पुस ४ मा तत्कालीन युवा संघका अध्यक्ष दुर्गा तिवारी र गत पुस २१ गते फर्निचर व्यवसायी वसन्त पौडेलको हत्याको जिम्मा लिने व्यक्ति हुन्। असोजमा काठमाडौैंमा व्यवसायी शरद गौचनको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरी दाबी छ। मुठभेडमा मारिएका आले तिवारीलाई गोली हान्ने व्यक्ति हुन्। भैरहवामा बैंक लुटपाटसहित घटनामा उनको संलग्नता खुलेको छ।
देवदहका व्यवसायी पौडेलपछि प्रहरीले पुनको खोजी तीव्र पारेको थियो। त्यसक्रममा पुनले मलेसियामा रहेको बताउँदै भारतको गोवाबाट अपराध फैैलाइरहेको सूचना प्रहरीले पाएको थियो। प्रहरी प्रमुख ज्ञवालीले नयाँ व्यक्तिको हत्या योजना बोकेर घर फर्किएका पुन प्रहरीको फन्दामा परेको बताए। ‘मनोजलाई समात्न नसकेको भए प्रहरी नै भाग्नुपर्ने अवस्था थियो, एउटा अपराधको शृंखला अन्त्य भएको छ’, उनले भने।
दुर्गा तिवारी, वसन्त पौडेल, व्यवसायी शरद गौचनलगायतको हत्याका मुख्य योजनाकार पुन बुधबार बिहान मुठभेडमा मारिएका हुन्।
रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पालगायत जिल्लाका व्यवसायीसँग फिरौती उठाउने पुनले माइतीमा रहेकी श्रीमतीलाई पैसा पठाउने गरेका थिए। पौडेल हत्यापछि फिरौती उठ्न छाडेपछि उनी नेपाल भित्रिएको प्रहरी दाबी छ। तर, उनी कुन मितिमा नेपाल प्रवेश गरे भन्ने जानकारी छैन। पौडेलको हत्यापछि माघ ७ मा पक्राउ परेका महिनारायण चौधरी र पदम चौैधरीको सहयोगमा पुनसम्म पुग्न सकिएको ज्ञवालीले बताए।
भवानीपुरको विजयपुर चोकनजिकैै मुठभेड भएपछि गोली हानाहान भएको प्रहरी दाबी छ। पुनले हानेको गोली प्रहरीको मोटरसाइकलमा लागेको ज्ञवालीले जानकारी दिए। मोटरसाइकलमा आएका उनीहरूमाथि केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जिसीको टोलीले २२ राउन्ड गोली खर्चेको छ। प्रहरीकै अनुसार घाइते भएका उनीहरूको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको थियोे।
मनोजलाई १२ वटा गोली लागेको थियो। शरीरको मुहारतिरकोे भागमा मात्रै ८ वटा, तिघ्रामा दुई, पाखुरा र ढाडमा एक÷एक गोली लागेको छ। सोम आलेको शरीरमा १० गोली छन्। प्रहरीका अनुसार छातीमा पाँच, ढाड, पेट, खुट्टामा एक÷एक र बायाँ कोखामा दुई गोली हानिएको छ।
प्रहरीले पुनको साथबाट एउटा पेस्तोल, पाँच वटा गोली र ल्यापटप बरामद गरेको छ। बरामद पेस्तोलको म्याग्जिनमा तीन वटा गोली थियो। एउटा गोली लोड गरेको अवस्थामा पेस्तोलको च्याम्बरमा र अर्को गोली सडकमा फेला परेको हो। पुनले बोेकेको नवलपरासीबाट जारी सुनीलकुमार राना नामको नक्कली राहदानी र फरक नामकै एटिएम कार्डसमेत बरामद भएको छ। पछिल्लो १४ महिनाको अवधिमा दुर्गा तिवारी, वसन्त पौडेल, मनोज पुन र सोमबहादुर आलेको देवदहमै ज्यान गएको हो। आलेबाहेक तीन जना स्थानीय बासिन्दा हुन्।
रिसइबीले गयो ज्यान
मनोज पुनको मृत्युपछि देवदहमा शोकभन्दा पनि उत्साह देखिएको छ। पुनकैै कारण ‘राम्रा मान्छे’ गुमाउनुपरेको आक्रोश स्थानीयमा छ। कुनै समय एउटै संगठन एमाले युवा संघमा काम गरेका उनीहरूबीच सम्पत्ति र ठेक्कापट्टाको विवाद थियो। देवदहमा रहेको सार्वजनिक जग्गामा बस्ती बसाउन चाहने पुन र त्यसलाई रोक्न खोज्ने तिवारी–पौैडेलबीच द्वन्द्व बढेको थियो। त्यही रिसइबीका कारण १४ महिनाको अवधिमा तीनै जनाको ज्यान गएको छ। पुन र आलेको शव परिवारले बुझ्न नमानेपछि अस्पतालमै राखिएको छ।
भुटुटु चल्यो गोली
स्थानीय सीता बस्यालले बिहान सवा तीन बजेतिर घरछेउमा गोली पड्केको आवाज आएको जानकारी दिइन्। ‘एकपछि अर्काे गर्दैै गोली पड्किरहे। राति उठेर हेर्ने हिम्मत भएन। उज्यालो भएपछि जताजतै प्रहरी थिए। घटनास्थलमा जान दिएनन्’, उनले भनिन्, ‘पछि मात्रै दुई जनाको मृत्यु भएको थाहा भयो।’ बुझ्दै जाँदा प्रहरी मुठभेडमा मनोज पुन मारिएको थाहा पाएको उनले बताइन््। ‘गोली चल्दा चिच्याएको रोएको आवाज केही सुनिएन’, उनले भनिन्, ‘एकछिन पड्कियो अनि रोकियो।’
अनुसन्धान बाँकी छ : एसएसपी
विभिन्न घटनाको मुख्य योजनाकार गुन्डा नाइके मनोज पुन र सोमबहादुर आलेको दोहोरो भिडन्तमा मृत्यु भए पनि घटनाको अनुसन्धान अझै बाँकी रहेको संघीय प्रहरी इकाइ कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताएका छन्। ‘उनीहरूलाई रकम असुलीदेखि लिएर विभिन्न घटनामा सहयोग गर्ने सहयोगीलाई पनि कानुनी दायरामा ल्याउँछौं। घटनाको फाइल बन्द हँुदैन। अनुसन्धान जारी रहन्छ’, उनले भने।
को हुन् पुन र आले ?
तत्कालीन युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको देवदहमा हत्या भएपछि एकाएक चर्चामा आएका मनोज पुनको वास्तविक नाम मनोज बुढामगर हो। ०७३ पुस ४ गते देवदहको खैरेनीमा तिवारीमाथि गोली चलाउनासाथ उनले प्रहरी प्रमुखसहित पत्रकारलाई फोन गरेर हत्याको जिम्मा लिएका थिए। त्यसयता प्रहरीले उनलाई फरार अभियुक्तको सूचीमा राखेर खोजी गरेको थियो।
पुन रुपन्देही देवदह नगरपालिका–२ का बासिन्दा हुन्। उनी युथफोर्स गठन भएको केही समयपछि युथफोर्स रुपन्देही–१ का कोषाध्यक्षसमेत भएका थिए। त्यसअघि र पछि देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा संलग्न भए। माओवादीका संगठित सदस्य देवदहकै शालिकराम चापागाईंलगायतसँग मिलेर सानातिना ठेक्कापट्टाको काम गर्थे। पाँच वर्ष अघिसम्म युथफोर्समा रहँदा पनि उनले फिरौती माग्ने, गुन्डागर्दी गर्नेजस्ता गतिविधि जारी राखेका थिए। युथफोर्सको आडमा आपराधिक काम गरेको भन्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो। त्यसपछि उनी माओवादीको वाईसीएलसँग नजिक भए।
उनले ०७२ फागुन २० मा तिवारीमाथि देवदहकै एक इँटा कारखानानजिकै गोली हानेका थिए। पुस २१ गते देवदहै फर्निचर व्यवसायी वसन्त पौडेलको पनि उनले हत्या गरे। फर्निचरमा काठ किन्न गएका दुई जनाले पौडेलमाथि गोली प्रहार गरेका थिए। त्यसयता कुनै आपराधिक गतिविधि भएका थिएनन्। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको असोजमा भएको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले बताउँदै आएको छ। पुनलाई यो क्रियाकलापमा सघाउने १८ जना सहयोगी यसअघि नै पक्राउ परेका थिए।
अर्का मृतक सोम आलेको परिवार भैरहवामा बस्दै आएको छ। उनी पाँच वर्ष पाल्पा कारावासमा बसेका थिए। भैैरहवामा बैंक लुटपाट मच्चाउँदै उनी मनोज पुनसँग नजिक भएका थिए। ०७३ पुस ४ गते तिवारीमाथि गोली हान्ने आलेलाई प्रहरीले सिपालु सार्पसुटरको परिचय दिँदै आएको छ।
भैरहवामा परिवारसहित भाडामा बस्दै आएका आले पुनसँग भेट हुनुअघि नै अपराधको दलदलमा थिए। ०६२÷६३ को जनआन्दोलन सुरु हुनुअघि आलेले बुटवलको अमरपथस्थित प्रभु मनी ट्रान्सफरमा लुटपाटको योजना बनाएका थिए।
मोटरसाइकलमा आएका आले र उनका साथीले रकम लुटेर गोली प्रहार गरी एक जनाको हत्या गरेर फरार हुन खोज्दा स्थानीयले आलेलाई पक्राउ गरेका थिए। साथीचाहिँ फरार भए। त्यसैबेला भैरहवा कारागारमा रहँदा पुनसँग उनको भेट भएको प्रहरीको दाबी छ।
सजाय भुक्तान गरेर निस्केपछि ०७३ भदौ १२ गते उनले सिद्धार्थ नगरपालिका–३, दरखसवा (भैरहवा) मा अरुणकुमार तेली र कमलेश यादवको साथबाट ७ लाख ६० हजार रुपैयाँ लुटेका थिए। त्यसपछि तिवारीको हत्या गर्नका लागि पुनले आलेलाई रोजेका थिए। आले र मुख्य सुटर राजु भन्ने व्यक्तिले दुर्गा तिवारीको हत्या गरेका थिए। त्यसलगत्तै खोजी तीव्र भएपछि आलेलाई पुनले भारतमा सेल्टर दिएका थिए। भारतमा रहँदा पुनले आलेलाई भैरहवाका उद्योगी व्यवसायीको नाम, फोन नम्बर, ठेगानासहित अन्य विवरण संकलन गर्ने जिम्मा दिएको प्रहरी दाबी छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार