पाँचथर, १५ चैत । सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँडेकी पूर्व छापामार अनुपा राईको निशुल्क उपचार हुने भएको छ ।
झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभीरमा जन्मिएकी अनुपा राईको शरीरमा १५ वर्ष अघि लागेको गोलीको निःशुल्क उपचार हुने भएको हो । उनको शरीरमा लागेको गोली निकाल्न जति खर्च लागे पनि बी एण्ड सी अस्पतालल निःशुल्क उपचार गरिदिने अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले बताए ।

युद्धकालमै पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङका तत्कालीन छापामार मनकुमार राईसँग पार्टीभित्रै विवाह गरेकी अनुपा अहिले पाँचथर सुभाङमै बसिरहेकी छन् । उनका श्रीमान् चार वर्षयता मलेसियामा वैदेशिक रोजगारीमा छन् ।

अनुपालाई २४ वैशाख २०५९ मा संखुवासभाको चैनपुर युद्धमा गोली लागेको थियो । उनको टाउको र देब्रे छातीमा छर्रा छ । जसले अहिले धेरै पीडा दिन थालेको छ । ‘यसैको कारणले होला खुट्टा निदाउँछ, चलाउँनै गाह्रो हुन्छ’ फिदिममा पत्रकारसँग कुराकानी गर्दै अनुपाले भने ।

विसं २०५८ मंसिर १० मा सोलुखुम्बु, २२ माघ २०५८ मा काभ्रेको भकुण्डेबेँसी आक्रमणमा अनुपाले वीरतापूर्वक लड्नुभयो । २४ वैशाख २०५९ मा संखुवासभाको चैनपुर आक्रमणमा गम्भीर घाइते भएकी अनुपाले, घाइते भएपछि पनि २२ भदौ २०५९ मा सिन्धुलीको भिमान र १० कात्तिक २०५९ मा ओखलढुंगाको रुम्जाटार आक्रमणमा पनि लडेी थिईन् ।

‘रणसंग्रामबाट नयाँ जीवन पाएर फर्केकी थिएँ’ आफू घाइते भएको चैनपुर आक्रमणलाई स्मरण गर्दै अनुपाले भने, ‘साथीहरुले म मरेको रिपोर्ट कमान्डरकहाँ पु¥याएछन् त्यसपछि पार्टीले मलाई शहीद घोषणा गरेछ ।’
उहाँ शहीद भएको खबर घरसम्म पनि पुग्यो । तर काजकिरिया चाँही गरिएनछ घरमा । माओवादी शान्ति प्रक्रियामा आएपछि अनुपा उपचारका लागि काठमाडौँको लाइफ केयर अस्पतालसम्म पुगेर सामान्य उपचार गराएपछि द्वन्द्वपीडितलाई पैसा दिन्छन् अरे भन्ने सुनेर फिदिमस्थित पार्टी कार्यालय आएर फारम पनि भरेपनि अहिलेसम्म कहीँकतैबाट पनि क्षतिपूर्ति नपाएको उनले गुनासो गरे ।

अहिले टाउको र छातीमा रहेको छर्राका कारण दिनदिनै आफूलाई गाह्रो हुँदै गएको अनुपा बताउछन् ।
पार्टीले आफ्नो उपचार गरिदिन्छ भन्नेमा उहाँ अझै आशावादी हुनुहुन्छ । ‘हाम्रै कारणले मुलुकमा यतिसम्म परिवर्तन भयो, फेरि पनि पार्टी सत्तामा पुगेको छ, म र म जस्ता अन्य युद्धमा पीडित भएकालाई पार्टीले हेर्नुपर्छ’ अनुपाले पत्रकारसँग भनुभयो ‘मेरो कुरा तपाईहरु मार्फत् पार्टीका ठूला नेतासम्म पुग्छ भन्ने विश्वास छ ।’

नेकपा (माओवादी केन्द्र) का हिलिहाङ गाउँपालिका इन्चार्ज रबीन तिम्सिनाले भने शुरुमा पार्टीले द्वन्द्वपीडितको विवरण संकलन गर्ने क्रममा अनुपाको नाम छुटेकाले राज्य पक्षबाट कुनै किसिमको सहयोग जुटाउन नसकिएको बताए । तर अनुपाको उपचार जसरी पनि हुनुपर्छ भनेर लागिरहेको उनको भनाई छ । अनुपाका १२ वर्षीय छोरा अहिले फिदिमस्थित नयाँ नमुना माविमा कक्षा–७ मा पढ्दैछन् भने उहाँ सुभाङमै सासुआमासँग बस्दै आएकी छिन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार