टोकियो / जापान। चालू आर्थिक वर्षदेखि जापानभर ट्रक, बस र ट्याक्सीहरू विदेशी चालकहरूले चलाइरहेका दृश्यहरू सामान्य बन्नेछ। जापानमा चालक अभाव झेलिरहेका ट्रान्सपोर्ट कम्पनीहरूका लागि सहजता थप्ने प्रयास स्वरूप सरकारले ‘स्पेसिफाइड स्किल्ड वर्कर (SSW)’ नामक भिसा प्रणालीअन्तर्गत सवारी साधन यातायात क्षेत्रलाई नयाँ रूपमा समावेश गरेपछि यस्तो सम्भव हुने देखिएको हो।

भाषा र सुरक्षा सम्बन्धी चासो
विदेशी चालकहरूले सुरक्षित रूपमा सवारी चलाउँछन् कि चलाउँदैनन्? उनीहरूको जापानी भाषाको दक्षता कस्तो होला? यस्ता चासोहरू ग्राहकहरूमाझ देखिएका छन्। त्यसैले कम्पनीहरूले विदेशी चालकहरूलाई निरन्तर तालिम दिने व्यवस्था मिलाउन थालेका छन्।

एसएसडब्लु(SSW)भिसा प्रणाली जापानमा कामदार अभाव भएका उद्योगहरूमा विदेशी श्रमिकहरू भित्र्याउने उद्देश्यले ल्याइएको हो। सन् २०२४ को मार्च महिनामा सरकारले यो सूचीमा सवारी साधन यातायात उद्योगसमेत थप्ने निर्णय गरेको थियो।

विदेशी चालकहरूले ठेगानाहरू बुझ्न र यात्रुहरूसँग संवाद गर्न कठिनाई भोग्ने सम्भावना भएकाले कम्पनीहरुले ट्राफिक नियम, गाडी चलाउने प्रविधि र ग्राहक सेवा सम्बन्धी तालिम दिने योजना बनाएको छ। साथै, यात्रुले गन्तव्यलाई आवाजमार्फत इनपुट गर्न सक्ने प्रणालीसमेत तयारीमा रहेको छ।

कामदारको अभाव, विदेशी चालकहरुमा आशा

सरकारले सन् २०२८ सम्म २४ हजार ५०० जना विदेशी चालकहरू भित्र्याउने लक्ष्य राखेको छ। धेरै कम्पनीहरूले हाल विदेशी चालकहरू भर्ना गर्न थालेका छन्। ओसाकास्थित ‘सकाई मूभिङ सर्भिस कम्पनी’ले यस अगस्त महिनामा ३० जना इन्डोनेसियाली ट्रक चालकहरू जापान ल्याउने तयारी गरिरहेको छ। उनीहरूलाई जापान आउनुअघि इन्डोनेसियामै तालिम दिइनेछ र जापान आएपछि जापानी कर्मचारी सरह तालिम दिइनेछ।

कम्पनीहरुको जिम्मेवारी बढ्दै
“ट्रक एक्लै चालकले चलाउने भएकाले विदेशी चालकहरूलाई निगरानी गर्न गाह्रो हुन्छ। त्यसैले हामी थप खर्च बेहोरेरै भए पनि उनीहरूको सुरक्षा सुनिश्चित गर्न तयार छौं,” साईतामाको ‘हब एण्ड स्पोक लजिस्टिक्स’ कम्पनीका प्रतिनिधि ताकुता शिनाबारा भन्छन्।

हाल विदेशी लाइसेन्सलाई जापानी लाइसेन्समा रूपान्तरण गर्ने प्रक्रिया सजिलो भएको भन्दै संसदमा प्रश्न उठिरहेका छन्। त्यसलाई कडाइ गरिने छलफल चलिरहेको छ। यद्यपि एसएसडब्लु(SSW)भिसा भएका चालकहरूले पेशेवर स्तरको लाइसेन्स लिनुपर्ने भएकाले उनीहरूसँग पर्याप्त सीप हुने विश्वास गरिएको छ।

तर दुर्घटना वा विपद् आउँदा अनुभव अभावले समस्या ल्याउने सक्ने भएकाले वकिल सोइचि इबुसुकी भन्छन्, “विदेशी चालकहरू न केवल श्रमिक दुर्घटनाको सिकार हुन सक्छन्, उनीहरू दुर्घटनाका कारण बन्ने जोखिम पनि रहन्छ। त्यसैले कम्पनीहरूले तालिम र शिक्षा प्रदान गर्न गम्भीर जिम्मेवारी लिनुपर्छ।”

उनले थपे, “सरकारले पनि चालकहरूको दुर्घटना र कार्यस्थलको अवस्था नियमित रूपमा मूल्याङ्कन गर्दै पारदर्शिता कायम राख्नुपर्छ।”


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार