एजेन्सी । न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ६ साता लामो सुत्केरी बिदा सकेर काममा फर्किएकी छन् ।

३८ वर्षीया आर्डर्नले गत जुन महिनामा छोरी निभलाई जन्म दिएकी थिइन् । प्रधानमन्त्री पदमा रहँदा बच्चा जन्माउने उनी दोस्रो प्रधानमन्त्री हुन् ।

उनी बिदामा बस्दा विन्स्टन पिटर्सलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा सम्हालेका थिए । ६ साताको अवधिलाई उनले आफ्नो जीवनमा सबैभन्दा छिटो बितेको ६ साता भन्दै आफू काममा फर्किन तयार भएको बताइन् ।

टीभी एनजेडसँग कुरा गर्दै आर्डर्नले देशका जनता, आफ्नो टोली र कार्यवाहक प्रधानमन्त्रीको सदाशयता र सहयोगले गर्दा आफू छोरीसँग बस्न पाएकोमा प्रसन्नता व्यक्त गरेकी छन् ।

आर्डर्नलाई आफ्नो राजनीतिक उत्तरदायित्व निर्वाह गर्न सहज होस् भनेर उनका प्रेमी तथा टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डले घरमै बसेर छोरीको स्याहारसुसार गर्नेछन् ।

आफ्ना प्रेमी सहयोगी भएको र पिताका रूपमा छोरी हुर्काउन उनले संयुक्त जिम्मेदारी स्वीकारेको भन्दै उनले गेफोर्डको प्रशंसा गरिन् ।

आर्डर्न गत अक्टोबरमा प्रधानमन्त्री पदमा निर्वा्चित भएकी हुन् । केही महिनापछि जनवरीमा उनले आफू गर्भवती भएको घोषणा गरेकी थिइन् ।

उनी न्यूजिल्यान्डमा सन् १८५६ पछि सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेकी व्यक्ति हुन् ।

गत साता सार्वजनिक भएको एउटा भिडिओमा उनलाई कागजपत्रहरूको खात नजिकै बसेर छोरीको कोक्रो हल्लाउँदै गरेको देखिएको थियो ।

सन् १९९० मा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले पनि पदमा रहँदै बच्चा जन्माएकी थिइन् । राजधानी दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार