टोकियो ,जापान। जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाईची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मंगलबार सम्पन्न पहिलो शिखरवार्तामा सुरक्षा सुदृढीकरण र आर्थिक सहकार्य विस्तार गर्ने सहमति भएको छ।

ताकाईचीले जापान–अमेरिका सम्बन्धलाई “नयाँ स्वर्ण युगमा रूपान्तरण गर्ने” प्रतिबद्धता जनाउँदै जापानले आफ्नै पहलमा रक्षा बजेट बढाउने बताइन्। दुवै नेताले उत्तर कोरियाको आणविक कार्यक्रम नियन्त्रण, र चीनद्वारा ताईवानमाथी बलपूर्वक स्थायित्व परिवर्तन प्रयासको विरोधमा साझा धारणा व्यक्त गरे।

वार्तामा दुवै पक्षले दक्षिण कोरिया, फिलिपिन्स, अस्ट्रेलिया र भारतसँग मिलेर बहुपक्षीय सुरक्षा सहकार्य बढाउने निर्णय गरे। साथै, दुर्लभ खनिज र आर्थिक सुरक्षाका विषयमा सहकार्य सम्झौतामा हस्ताक्षर भयो।

जुलाईमा भएको ५५० अर्ब डलर (करिब ८० ट्रिलियन येन) बराबरको व्यापार सम्झौताअनुसार जापानले अमेरिकामा लगानी गर्नेछ भने ट्रम्प प्रशासनले जापानी गाडीमाथिको कर घटाएर १५ प्रतिशत पुर्‍याएको छ। जापानी कम्पनीहरूले यसअघिनै ४०० अर्ब डलर (६० ट्रिलियन येन) बराबरका लगानी परियोजनामा चासो देखाइसकेका छन्।

ताकाईचीले ट्रम्पको “मध्यपूर्व शान्ति प्रयास”को प्रशंसा गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने इच्छा पनि व्यक्त गरिन्। दुवै नेताले रूस–युक्रेन युद्ध अन्त्य, एआई र खनिज सुरक्षाको रणनीतिबारे पनि छलफल गरे।

वार्तापछि उनीहरू योकोसुका नेभल बेसमा रहेको अमेरिकी विमानवाहक जहाज “जर्ज वाशिङ्टन” पुगे र सैनिकहरूलाई सम्बोधन गरे।

यो भेटलाई विश्लेषकहरूले जापान–अमेरिका सम्बन्धको नयाँ अध्याय र एशिया–प्रशान्त क्षेत्रमा सन्तुलन सुदृढीकरणको संकेतका रूपमा मूल्यांकन गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार