टोकियो,जापान। नेपालमा गत वर्ष युवाहरूले नेतृत्व गरेको ठूलो विरोध प्रदर्शनपछि सरकार ढलेको पृष्ठभूमिमा आज मार्च ५ तारिख राजनीतिक परिवर्तनपछि पहिलो पटक आम निर्वाचन हुँदैछ। राजधानी काठमाडौँका पूर्वमेयरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको नयाँ राजनीतिक दलले युवाहरूबाट व्यापक समर्थन पाइरहेको भनाइबीच सो दलले कति सिट जित्छ भन्ने विषय मुख्य चासोको केन्द्र बनेको छ।

लामो समयदेखि भ्रष्टाचार र उच्च बेरोजगारी दर समस्याका रूपमा रहेको नेपालमा गत वर्ष सेप्टेम्बरमा सरकारले सामाजिक सञ्जाल अवरुद्ध गरेपछि युवाहरूको नेतृत्वमा देशभर ठूलो विरोध प्रदर्शन सुरु भएको थियो। ती प्रदर्शन चर्किएपछि अन्ततः सरकार ढलेको थियो।

अहिले अन्तरिम सरकारको नेतृत्वमा राजनीतिक परिवर्तनपछि पहिलो पटक आम निर्वाचनको मतदान आज हुँदैछ। यस निर्वाचनमा भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक सुधार मुख्य चुनावी मुद्दा बनेका छन्।

विरोध प्रदर्शनपछि राजीनामा दिन बाध्य भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुनः सत्तामा फर्किने लक्ष्यसहित चुनावी मैदानमा छन्। उनले आफूले सरकार चलाएको अनुभवलाई जोड दिँदै न्यूनतम पारिश्रमिक वृद्धि लगायतका कार्यक्रम अघि सारेका छन्।

अर्कोतर्फ युवाहरूको समर्थन पाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावमा बलियो चुनौती दिएको छ। उक्त दलले राजधानी काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदै भ्रष्टाचारविरुद्ध कडा कदम र रोजगारी सिर्जनालाई प्रमुख एजेन्डा बनाएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका केही सर्वेक्षणहरूमा ओली र शाहबीचको प्रत्यक्ष प्रतिस्पर्धा भएको क्षेत्रमा शाह अघि देखिएको बताइएको छ। त्यसैले नयाँ दलले प्रमुख परम्परागत दलहरूलाई उछिन्दै कति सिट जित्छ भन्ने विषय अहिलेको निर्वाचनको मुख्य केन्द्रबिन्दु बनेको छ।

(जापानका मूलधारका मिडियाहरुमा प्रकाशित समाचारको सार)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार