काठमाडौँ । भोलि हुन गइरहेको प्रदेश सभा तथा प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी भइसकेको जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेका छन् ।

संविधान कार्यान्वयनकै महत्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणमा भोलि मंसिर १० गते आइतबार ३२ जिल्लामा हुँदैछ । प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको यादवले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै यादवले मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको जानकारी दिए । ‘मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको व्यहोरा जानकारी गराउँदछु,’ उनले भने ।

यादवले कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने चेतावनी पनि दिए ।

प्रमुख आयुक्त यादवले अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

भोलि सम्पन्न हुने निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ ।

कसरी मतदान गर्ने ?
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नहरूमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ । समानुपातिकतर्फ मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागमा मतपत्र–१ रहेको छ र त्यो मतपत्र प्रतिनिधिसभा सदस्यका लागि भएको हुँदा त्यसमा रहेका दलहरूका निर्वाचन चिह्नमध्ये मतदाताले कुनै एक राजनीतिक दलको चिह्नमा मत संकेत गर्नुपर्छ । त्

यसैगरी, त्यही मतपत्रको तल्लो भागमा रहेको मतपत्र–२ प्रदेशसभाका लागि भएको र त्यसमा रहेका चिह्नहरूमध्ये आफूलाई मनपरेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार