काठमाडौं । पूर्व फुटबल स्टार जर्ज वेय लाइबेरियामा नयाँ राष्ट्रपति चुनिएका छन् ।
निर्वाचनको मतगणनामा ६० प्रतिशतभन्दा बढी मतका साथ उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

जासेफ बोआकीलाई हराउँदै जर्ज राष्ट्रपतिमा चुनिएको खबर सार्वजनिक भएलगत्तै उनका समर्थकहरु खुसी मनाउन सडकमा निस्किएका छन् । राजधानी मोनरोविया लगायतका स्थानमा खुसीको माहोल रहेको बीबीसीले लेखेको छ ।

जर्ज वेयले लाइबेरियाकी पहिलो महिला राष्ट्रपति एलन जोनसन सरलीफको स्थान लिनेछन् । विजयी भएपछि जर्जले ट्वीटरमार्फत् ‘लाइबेरियाका मेरा साथीहरु, म पूरै देशको भावनाको सम्वोधन गर्नेछु । म आज जिम्मेवारी र महत्वलाई बुझ्दछु । अब हामी परिवर्तन उन्मुख छौं ।’ भनेका छन् ।

फुटबलका चर्चित खेलाडी जर्ज एक जमानामा यूरोपको पेरिस सेन्टजर्मन र एसी मिलानको स्टार खेलाडी थिए । आफ्नो करियरको अन्तिम दिनहरुमा उनी चेल्सी र म्यानचेस्टर सीटी क्लबबाट पनि फुटबल खेले । फिफा वल्ड प्लेयर अफ द इयर र बलन डी ओर जित्ने उनी एकमात्र अफ्रिकी खेलाडी हुन् ।

सन् २००२ मा खेलबाट सन्यास लिएपछि उनी राजनीतिमा आएका थिए । राष्ट्रपति चुनिनुअघि उनी सांसद बने । सन् २००५ मा राष्ट्रपति चुनावमा जर्जलाई एलन जोनसनसँग पराजित हुनुपरेको थियो । सरलीफको शासन सन् २००६ मा शुरु भएको थियो ।

गृहयुद्धपछि विद्रोहीका कारण तत्कालीन राष्ट्रपति चार्ल्स टेलरले सत्ता गुमाएपछि सरलीफ सत्तामा आएकी थिइन् । टेलर हाल युद्ध अपराधको मुद्दामा व्रिटेनमा ५० वर्षको सजायँ काटिरहेका छन् । टेलरले सन् १९८० र ९० को दशकमा हिंसक विद्रोहको नेतृत्व गरेका थिए । त्यसपछि सन् १९९७ मान चुनाव जितेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार