रोल्पा, ३० फागुन । रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले सम्बन्धविच्छेद गरेको छ ।

साविकको राङकोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उनका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीले बुधबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको हो ।

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले वली दम्पतीको सम्बन्धविच्छेदको फैसला सुनाएको मुद्दा फाँटका डिट्ठा भीमराज ढकालले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत रोल्पाले मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ नं को देहाय २ बमोजिम सम्बन्धविच्छेदको फैसला गरेको हो । वृद्धा वलीले अंश माना चामल दाबी नगरी शुद्ध सम्बन्धविच्छेद गरेको हो ।

हस्तमालीको राङ्कोट–४ कोरल निवासी स्व. दलसर रोकासँग यसअघि मागी विवाह भएको थियो । पहिलो श्रीमान् रोकाबाट हस्तमालीका सन्तान भएनन् । दुर्भाग्यवश रोकाको निधन भयो । यसरी एक्लो जीवन बिताउँदै आउनुभएका हस्तमालीले ४८ वर्षको उमेरमा पञ्चबहादुर वलीसँग २०५१ सालमा आफूखुशी प्रेम विवाह गरेकी थिइन् । विवाहपछि वली दम्पतीबाट एक छोरीलाई जन्म दिएकी थिइन् ।

जिल्ला अदालत रोल्पामा पीडितले दिएको निवेदन उजुरीअनुसार विवाहपछि दोस्रो श्रीमान् पञ्चबहादुरले आफूलाई अनावश्यक रुपमा गाली गर्ने, कुटपिट गर्ने, खान लगाउनमा अपहेलना गर्ने, कामधन्दामा मात्र लगाई श्रम शोषण गर्ने, शारीरिक एवं मानसिक रुपमा यातना दिने गरेको उल्लेख छ ।

वृद्धा वलीले पेश गरेको निवेदनअनुसार आफू वृद्धावस्थाका कारण काम गरिखान नसक्ने स्थितिमा रहँदा पनि ‘यस्ती स्वास्नी चाहिँदैन, घरबाट निस्किएर जा’ भन्दै कुटपिट गरी घरबाट निकाला गरेको हुँदा आफू २०७२ असोज १० गतेदेखि छोरीको घरमा बस्दै आएको वृद्धा वलीले आफ्नो निवेदनमा उल्लेख गरेकी छन् ।

घरबाट निस्किएपछि पनि श्रीमान्ले आफ्नो कुनै खोजखबर नगरेका कारण आफूले पटक पटक गाउँका भद्रभलाद्मीहरु तथा स्थानीय प्रहरी चौकीमा पुगी छलफल गराएको, अनेक प्रयास गर्दा पनि श्रीमान्ले घरमा लैजान नमानेको, बरु अदालतबाट सम्बन्धविच्छेद गर नत्र तँलाई नमारी छाड्दैन भन्दै डर धम्की देखाई करकापमा पारेको हुँदा आफू सम्बन्धविच्छेदको निर्णयमा पुगेको वृद्धाको निवेदनमा उल्लेख छ ।

जिल्ला न्यायाधीश श्रेष्ठका अनुसार पीडितले २०७३ फागुन १२ गते सम्बन्धविच्छेदका लागि जिल्ला अदालत रोल्पामा निवेदन दिएका थिए । प्रतिवादीलाई आफ्नो सफाइ पेश गर्ने मौका प्रदान गरिएको भए पनि सो जानकारी पाउँदापाउँदै कुनै पनि प्रतिवाद नगरी चुप लागी बसेका कारणले गर्दा प्रतिवादीको भावना बुझ्न नपाइएको उनको भनाइ छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार