काठमाडौं, १ चैत । दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन् ।
आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता र हिमाल आरोही गर्ने आरोहीहरु त्रसित बनेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन् । चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किँदै खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष तथा आरोही गाइड लाक्पा नुर्बु शेर्पाले बताए । ‘आफ्नै साथीको शव भेटिन्छ, कतिपय चिनजानकै विदेशीको शव देखिँदा मन झस्किन्छ । यसको व्यवस्थापन राज्यले तत्काल गर्नुपर्छ’, उनले भने ।

आरोही लाक्पा शेर्पाले धौलागिरि हिमाल (८१६७ मि) चुम्नै लाग्दा विदेशी नागरिकको शव देखेपछि हातखुट्टा नै कमजोर बनेको बताए । त्यो विदेशी शव करिब २० वर्ष पुरानो हुन सक्ने उनले अनुमान लगाए । तर चिसोले जस्ताको तस्तै छ । करिब २५ वर्षदेखिका शव हिमालका क्याम्प र बाटामा अलपत्र अवस्थामा भेटिने गरेका छन् ।

विदेशी आरोहीको हिमालमा मृत्यु भए शव त्यहीँ छाड्न परिवारको इच्छा हुने, जीवन बिमा नहुँदा शव ल्याउन नसक्ने, रकम महँगो पर्ने भएकाले आधार शिविरसम्म नल्याउने र कम्पनीले समेत कानुनी आधार नमान्दा समस्या हुने गरेको सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले बताए । राज्यले आरोहणमा मनग्गे राजस्व उठाएकाले पुराना शवलाई आधार शिविर ल्याएर व्यवस्थापन गर्नुको विकल्प नभएको भन्दै पर्यटन विभागसँग अध्यक्ष मायाले माग गरे ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार