काठमाडौं, ११ चैत । आज चैते दशैं अर्थात रामनवमी । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिन । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ ।
राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।
त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट जन्मिएका हुन् । रामले मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार शिवधनु भाँचेर सीतालाई पत्नी रूपमा प्राप्त गरे । सीतालाई हिन्दूहरू लक्ष्मीको साक्षात् रूप मान्छन् भने रामलाई क्षितिपालक भुषण परमात्मा स्वरूप मान्दछन् । रामका तीन भाइ थिए( लक्ष्मण, भरत र शत्रुघ्न । रामायणका अनुसार भगवान् विष्णुले आफ्ना सोह्रै कलाहरू राजा दरशथको घरमा अलग अलग रूपले श्रीराम (१३ कला), लक्ष्मण (२ कला), भरत र शत्रुघ्न क्रमशः एक एक कलामा विभाजित गरेर चारजना पुत्रको रूपमा जन्म लिएका थिए । रामलाई रघुनाथ, राघव, रघुपति, रामचन्ऽ आदि थुप्रै नामले चिनिन्छ । मर्यादा पुरुष श्रीराम पितृ वचन पालन गर्नेहरूमध्ये एक अग्रणी हुन् ।

हनुमान रामका सबैभन्दा ठूला भक्त मानिन्छन् । रामले राक्षस जातिका खर, दूषण, त्रिशिरा, कुम्भकर्ण तथा वानरराज बालिका साथै राक्षसराज रावणको वध गरे । हिन्दू धर्मका दसैं, रामनवमीजस्ता चाडपर्व रामको जीवन कथासँग जोडिएका छन् ।

उनै परमात्माका अवतार भनिएका रामका जीवनका अनेकौं आयाम छन् । उनका कर्म हेरेर कसैले उनलाई मर्यादा पुरुषोत्तमका रूपमा सम्मान गरे भने आधुनिक युगका कतिपयले उनको सोही कर्ममा खोट लगाउने गरिएको समेत पाइन्छ । रामका जीवनमा केही यस्ता प्रसंग छन् जसका आधारमा उनको मूल्यांकन गर्न सकिन्छ । उल्लेख्य कुरा के छ भने रामका तार्किक विरोध गर्नेहरूले समेत राम आफैंमा खराब थिएनन् बरु आसेपासे, सल्लाहकार व्राह्मणवर्ग तथा ऋषिमुनि आदिको दबाबका कारण वर्तमान परिप्रेक्ष्यमा गलत काम गरेका हुन् भनेका छन् ।

रामको जीवनकाल र पराक्रम महर्षि वाल्मीकिद्वारा रचित संस्कृत महाकाव्य रामायणमा वणिर्त छ । तुलसीदासले पनि भक्ति काव्यका रूपमा श्री रामचरितमानसको रचना गरेका थिए । नेपालमा पनि आदिकवि भानुभक्त रामायणकै कारण ख्यातिप्राप्त छन् । राम उत्तर भारत र नेपालमा धेरै पूजनीय छन् । उनी हिन्दूहृदय सम्राट् तथा आदर्श पुरुष हुन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार