काठमाडौं, ५ भदौं । नाम लिली, उमेर २६ । अघिल्तिर फनफनी घुमिरहेको चक्रबाट उनले सानो माटोको पाला बनाइन् । अनि मुसुक्क हाँसिन् ।

भूगोलमा सानो तर सम्पदा र संस्कृतिमा ठूलो जिल्ला भक्तपुरको पोट्री पार्कमा केही दिनयता यी चिनियाँ युवती माटोका भाँडा बनाउने कला सिक्दैछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

कला र संस्कृतिको खुला संग्रहालय भक्तपुरमा पर्यटकहरू यत्रतत्र घुमिरहेका बेला लिली भने माटो मुछिरहेकी हुन्छिन् । माटोको भाँडाका लागि अन्तर्राष्ट्रिय रूपमै चर्चित यो थलोमा चीनबाट दुई साताअघि मात्रै आएकी उनलाई सिर्जन प्रजापतिले सिकाइरहेका छन् ।

सँगै आएका सहपाठी भक्तपुरका सम्पदा नियाल्न व्यस्त हुन्छन्, लिलीलाई भने यहाँको कला जसरी पनि सिक्नु छ । ‘यसपटक माटोका भाँडा सिक्नै आएको हुँ,’ सान्सी प्रान्तबाट आएकी उनले भनिन् ।

लिलीको यो तेस्रो नेपाल भ्रमण हो । अघिल्ला दुई भ्रमणमा उनी थाङका र पौभा कलाको फ्यान भइन्। तर ती दुवै बनाउन कठिन लागेपछि माटोका कलातिर तानिइन् । ‘थाङका, पौभाभन्दा यो सिक्न सजिलो भइरहेको छ,’ उनले भनिन्, ‘नेपालबाटै चीन पुगेका एक साथीमार्फत यहाँ सिक्ने व्यवस्था मिलेको हो ।’

हाइस्कुल सकाएर काममा लाग्न थालेकी उनी फुर्सद हुनेबित्तिकै नेपाल नै आउने बताइन्। यसपटक भने विशेष सीप सिकेर जाने उद्देश्यले आएकी हुन् ।

चीनमा पनि सेरामिक्सको भाँडा बनाइन्छ, तर उनी बस्ने वरपर बनाउँदैनन् रे। ‘घुम्न नि पाइने, सिक्न नि पाइने,’ उनले खुसी व्यक्त गरिन्। उनी चीन फर्किएर यसकै व्यवसाय गर्न चाहन्छिन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार