कञ्चनपुर, १२ भदौं । निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशनी बम र बबिता बमको घरबाट अनुसन्धान गर्नुपर्छ भनेर प्रहरीलाई कसैले भनिराख्नुपर्ने विषय होइन ।

तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली बिष्टको टोली मात्र होइन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्न चासो दिएनन् । साउन ११ गतेदेखि स्थानीयको प्रदर्शनको चुरो यही कुरामा थियो ।

‘बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान नगरेकाले प्रहरीको दोषी बचाउने शंकास्पद भूमिका देखेर हामीले आन्दोलन गरेका हौं’, स्थानीय उर्मिला शाहीले भनिन् ।

एक महिना लामो आन्दोलन चर्केर एकजनाको मृत्यु र धेरै घाइते हुने अवस्था पुग्दासम्म प्रहरी उपरीक्षक बिष्ट र जोशीको टोलीले बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्न नमान्नुको कारण के थियो ?

आन्दोलनको बलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक बदलिएपछि मात्र बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। प्रहरीले अदालतबाट ६ दिन म्याद थप गरेर रोशनी र बबितामाथि अनुसन्धान सुरु गरेको छ ।

‘एसपी डिल्ली बिष्टलाई घटना मोडेर डमी दोषी करार गर्न सक्छु भन्ने विश्वास थियो’, आन्दोलनमा सक्रिय विमला बिष्ट भन्छिन्, ‘जनताको आन्दोलनको शक्तिले अवस्था फेरिएको हो।’ निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा शक्तिशाली व्यक्तिले गरेको स्थानीय बताउँछन्।

भीमदत्त नगरपालिका — २ एलटाखामकी १३ बर्षीया निर्मला पन्त साउन ११ गत्ते उखुवारीमा मृत फेला परिन् ।

शव भेटिएको सोमबार एक महिना वितिसक्दा पनि अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्त सकेको छैन ।

आफुहरुलाई पहिले राहतभन्दा पनि निर्मलाको हत्याराको अनुहार देख्न मन भएको उनकी आमा दुर्गादेवी पन्त बताउँछिन् ।

हामीलाई अहिले राज भन्दा पनि निर्मलाको हत्यारालाई कारवाही गरेको देख्न मन छ, उनले भनिन् । आजको नागरिक दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार