मुगु, ६ मंसिर । हुम्लाको सर्केगार्ड गाउँपालिका २, उनपानीकी ४५ वर्षीया कन्नसिला फडेरा आवश्यक बन्दोबस्ती सामग्री पिठ्युँमा बोकेर पाँच दिनपछि गमगढी आइपुगिन् ।

गमगढीबाट खसी र भेडामा चामल बोकाएर घर फर्किन उनलाई थप पाँच दिन लाग्छ । उनीसँगै चामल किन्न आएकी ५० वर्षीया भ्याल्ली फडेरी पाँच क्विन्टल चामल लिएर गाउँ फर्किने तयारीमा छिन् ।

यी दुई मात्र होइन, हुम्लाको सर्केगार्ड र चंखेली गाउँपालिकावासी चामल लिन १० दिन हिँडेर गमगढी आइपुग्छन् । मुगुबाट दुःखकष्ट गरेर लिएको चामल एक महिना पनि नपुग्ने उनीहरूका भनाइ छ ।

मुगु सदरमुकाम आएर चामल लिनुको विकल्प छैन । स्थानीयका अनुसार सर्केगाड डिपोमा चामल ढुवानी नभएको लामो समय भयो ।

स्थानीयलाई सिमकोट पुग्न तीन दिन लाग्छ तर त्यहाँ पनि चामल नपाउँदा अधिकांश किसान मुगु आउनैपर्छ ।
गमगढीमा प्रतिकिलो ५० रुपैयाँमा पाइने चामल गाउँ पुग्दा २ सयसम्म पर्ने स्थानीयले बताएको आजको कान्तिपुर दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार