काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले प्रहरीको न्यायिक हिरासतमा छन् ।

बलात्कार प्रयास गरेको भन्दै शाहीले महराविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा किटानी जोहरी दिएपछि प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाटै असोज १९ गते पक्राउ गरेको थियो ।
त्यसपछि उनलाई अदालतमा पेश गरिएपनि ठोस जवाफ आइसकेको छैन ।
यसबीचमा प्रहरीले महरामाथिको अनुसन्धानलाई तीव्रता दिँदै आएको छ । घटनास्थलमा फेला परेका रक्सीका बोतल, चस्माको टुक्रा, जुत्ताको तलुवा, गिलासजस्ता कुराको प्रहरीले फेरेन्सिक जाँच गर्ने तयारी गरेको छ । त्यस्तै प्रहरीले महराको कल डिटेलदेखि रोशनीको कोठामा गएको भनिएको दिनको कल लोकेसन केलाइसकेको छ ।

प्रहरीले केलाएको कल लोकेसनलाई मात्र आधार मान्ने हो भने निवर्तमान सभामुख महरा रोशनीको कोठामा पुगेको देखिँदैन । तर अन्य प्रमाणबाट भने उनी रोशनीको कोठामा उपस्थित भएको देखिइसकेको छ । महराको अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘हामीले महराको कल लोकेसन र्हेयौं । तर उनी रोशनीको कोठामा भएको देखिँदैन । अन्य प्रमाणबाट भने उनी रोशनीको कोठामा पुगेको देखिन्छ।’

महरा रोशनीको कोठामा गएको मोबाइलको लोकेसनमा नदेखिनुमा उनले मोबाइल ’स्विच अफ’ गरेको वा त्यस समयमा फोन नआएको हुनुपर्ने प्रहरीले जनाएको छ । लामो समयसम्म फोन नआएको अवस्थामा मोबाइलबाट त्यस ठाउँको लोकेसन ट्र्याक हुँदैन।

डिएनए कति आवश्यक?
प्रहरीले महराको डिएनए परीक्षण गर्ने तयारी गरेको छ । महरा रोशनीको कोठामा गएका हो कि होइनन् भन्ने कुरालाई पुष्टि गर्न चस्माको टुक्रा, जुत्ताको तलुवामा हुन सक्ने डिएनए र महराको डिएनए म्याच गराउन डिएनए गर्न लागिएको प्रहरीको भनाइ छ ।

तर सिसिटिभी फुटेज, पीडित भनिएकी युवतीको बयान, महराले पठाएका म्यासेज, पिएसओको बयान र महरा स्वयमले नै रोशनीको कोठामा गएको भन्ने स्वीकारी सकेको अवस्थामा महराको डिएनए आवश्यक नरहेको अनुसन्धानविज्ञले जनाएका छन् । लामो समयसम्म चस्माको टुक्रा र जुत्तामा तलुवामा रहेको भनिएको डिएनए ’कन्टामिनेटेड’ भइसकेको हुन सक्ने र यतिखेर डिएनए परीक्षण गर्दा महरासँग नमिल्न सक्ने भएकाले डिएनए परीक्षणकै कारण उनी छुट्न सक्ने अवस्थासमेत आउन सक्ने अनुसन्धानविज्ञ बताउँछन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार