बाजुरा । निसास्सिने, अँध्यारो र खुट्टासमेत पसार्न नमिल्ने सानो छाउगोठमा बस्दै आएका महिला अब महिनावारीका बेला पनि आफ्नै घरमा आरामसाथ बस्न थालेका छन् । सरकारले असुरक्षित छाउगोठ भत्काएपछि महिला महिनावारीका बेला बस्न घरमै ठाउँ तयार पार्न थालेका हुन् । घरमै बस्न पाउने भएपछि महिलामा खुसी छाएको छ ।

एक महिना अघिसम्म बूढीगंगा नगरपालिका–८, रिठाबजारकी पवित्रा कुँवर महिनावारीका बेला घरमा बस्न पाउँथिनन् । आँगन छेवैमा रहेको साँघुरो छाउगोठमा असजिलो गरी बस्नुपथ्र्यो । केही दिनअघि स्थानीय जनप्रतिनिधि र प्रहरी आएर सम्झाई बुझाई उनी बस्ने छाउगोठ भत्काए । त्यसपछि उनी महिनावारीका बेला पहिलोपटक छाउगोठबाट घरमा सरिन् । ‘म सधैँ यही कोठामा सुत्थेँ,’ घरको तल्लो तलामा रहेको एउटा कोठाभित्रको खाट देखाउँदै उनले भनिन्, ‘सरकारले छाउगोठ भत्काएपछि आफ्नै कोठामा सुतेँ ।’

घरनजिकैको धामीले पनि देउता र भान्छा नछोई सरसफाइ गरी घरमै बस्न सल्लाह दिएको उनले बताइन् । घरमै सुत्ने अनुमति पाए पनि उनको कोठाबाट चोटामा जाने लिस्नो भने झिकिएको छ । ‘म छाउ हुँदा यो कोठाबाट घरका मान्छेको माथिल्लो तला जान नहुने भएकाले यो बाटो थुनिएको हो,’ सन्तान बच्चालाई स्तनपान गराइरहेकी पवित्राले त्यसका कारण खुलाइन् । घरभित्रबाट लिस्नो चढ्ने बाटो थुनेर बाहिरबाट बार्दली हुँदै चोटामा जाने भर्‍याङ लगाइएको छ ।

कुँवरले भनिन्, ‘सरकारले छाउगोठमा नबस भनेपछि उपाय त गर्नैप¥यो, त्यसैले छाउगोठको ढुंगामाटो लगाएर श्रीमानले भर्‍याङ बनाउनुभयो, आफ्नै कोठामा बस्न पाउँदा खुसी लागेको छ ।’

बूढीगंगा नगरपालिका–८ का वडा सदस्य सुरेन्द्रबहादुर थापाका अनुसार असुरक्षित छाउगोठ भत्केपछि महिला महिनावारीका बेला पनि घरमै बस्न थालेका छन् । गैरसरकारी र सरकारी प्रयासबाट २०६८ सालमै छाउगोठमुक्त भइसकेको यस वडाका केही घरमा रहेका छाउगोठ भत्काइएको छ ।

छाउगोठ भत्काइएसँगै सबै परिवारले महिनावारीका बेला महिलालाई बस्न घरमा सुरक्षित कोठा छुट्याएको पाइएको थापाको भनाइ छ । सोही नगरपालिका–१० का वडाध्यक्ष धर्मराज जैसीको मूल घरमा पनि केही दिन अघिसम्म छाउगोठ थियो । शौचालयमाथि तला थपेर महिलाले बस्ने छाउगोठ बनाइएको थियो । वडाध्यक्ष जैसी बुवा बस्ने घर पुग्दा हालै भत्काइएको छाउगोठको अवशेष देखियो ।

वडाध्यक्षका परिवार गाउँनजिकैको रिठाबजारमा बसोवास गर्ने भए पनि उनको बुवा र भाउजू महेश्वरी जैसी भने गाउँकै घरमा बस्दै आएका छन् । त्यस छाउगोठमा भाउजू महेश्वरी महिनावारीका बेला बस्दै आएकी थिइन् । छाउगोठ भत्काइएपछि घरकै कोठामा सुत्न पाइने कुराले आफू खुसी रहेको महेश्वरीले बताइन् ।

वडा नं १० कार्यालयका अनुसार यस वडामा सात सय घरधुरी छन् । जसमध्ये अधिकांशले धेरै पहिले नै छाउगोठको चलन छोडिसकेका छन् । सरकारको पछिल्लो अभियानका क्रममा वडाभरिमा जम्मा ५२ वटा छाउगोठ भेटिएका र सबैलाई नष्ट गरिएको जानकारी वडाध्यक्ष जैसीले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार