प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरू भेला भएका थिए । उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक पनि काटेका थिए । प्रधानमन्त्री निवासमा प्रायः देखिइरहने एक महिला पनि त्यहाँ उपस्थित थिइन् ।
केही समययता प्रधानमन्त्री निवासमा बाक्लै आउजाउ गरिरहेकी ती महिला नातेदार हुन् भन्नेबाहेक सचिवालयमै कार्यरत धेरैलाई उनको परिचय थाहा थिएन । त्यस दिन भने प्रधानमन्त्री ओली आफैंले ती महिलाको परिचय गराए । सचिवालयका उपस्थित सदस्यहरूलाई ओलीले भने, ‘मलाई मिर्गौला दिने उनी नै हुन् ।’ कान्तिपुर दैनिकमा समाचार छ । प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया ती महिला झापाकी हुन् ।
नातामा उनी ओलीकी ‘भान्जी’ पर्छिन् । ससुरालीतर्फ नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी र उनको मिर्गौलामा पनि केही समस्या देखिएकाले घरतर्फबाट नाता पर्ने झापाकी महिलाबाट मिर्गौला लिने निष्कर्षमा चिकित्सकहरू पुगेका हुन् । झापा, चारआलीकी ३२ वर्षीया ती महिला पहिले ओलीलाई मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी हुन् ।
त्यस हिसाबले उनी प्रधानमन्त्रीकी पनि ‘भान्जी’ नाता पर्ने पारिवारिक स्रोतहरूको भनाइ छ । स्रोतका अनुसार भान्जी पर्ने महिलाको दाहिनेतर्फको ‘१०.२ बाई ३.८ सीएम’ आकार रहेको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिनेछ । उनको देब्रेतर्फको मिर्गौलामा निकै मसिना सिस्ट (फोका) देखिएकाले दाहिने मिर्गौला प्रधानमन्त्रीका लागि उपयुक्त हुने निष्कर्षमा चिकित्सकहरू पुगेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री केपी ओलीले आफू छिट्टै स्वास्थ्यलाभ गरेर नियमित काममा फर्किने र एक हप्ताभित्र अर्को मन्त्रिपरिषद् बैठक बस्ने बताएको नयाँ पत्रिका दैनिकमा समाचार छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले मिर्गौला प्रत्यारोपणका लागि आफू उच्च मनोबलका साथ तयार रहेको बताए । ‘म छिट्टै स्वास्थ्यलाभ गरेर नियमित काममा फर्किन्छु, एक हप्ताभित्र अर्को क्याबिनेट बैठक बस्नेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘आफन्तभित्रै बहिनीकी छोरी (भान्जी)को मिर्गौला प्रत्यारोपण गर्दै छु, चिकित्सकहरूले सबै स्वास्थ्य परीक्षण गरेर प्रत्यारोपण सफल हुने जानकारी गराएका छन् । कहिलेकाहीँ डिजास्टर (विपत्ति) नै भयो भने बेग्लै कुरा हो, तर प्रत्यारोपण सफल हुनेमा पूर्ण विश्वस्त छु, उपचारका लागि शारीरिक, मानसिकसहित सबै हिसाबले तयार भएको छु ।’ बैठकले प्रधानमन्त्रीको स्वास्थ्यलाभ कामनाको प्रस्ताव पारित गरेको छ ।
प्रत्यारोपणमा जानुअघि आइतबार ओली नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिएकाले नेपाल भ्रमण वर्ष– २०२० लाई दुई वर्षका लागि स्थगित गर्ने निर्णय बैठकले गरेको छ । ‘संसारभरि नै आवागमन नै बन्द गर्नुपर्ने स्थिति आएको छ, यस्तो वेलामा भ्रमण वर्षको प्रवद्र्धन गर्नु उचित हुँदैन भनेर प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा भन्नुभयो,’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले अब सन् २०२२ मा भ्रमण वर्ष सम्पन्न गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको छ ।’
एक वर्षमा २० लाख पर्यटक ल्याउने उद्देश्यसहित ३० साउन ०७४ मा देउवा नेतृत्वको तत्कालीन सरकारले नेपाल भ्रमण वर्ष– २०२० को घोषणा गरेको थियो । प्रचारप्रसार तथा तयारीका लागि अहिलेसम्म ३० करोडभन्दा बढी खर्च भइसकेको छ । त्यस्तै नेपालमा ‘अन अराइभल’ भिसाको सुविधा पाउँदै आएका देशका नागरिकलाई पनि अब त्यस्तो सेवा नदिन सूचना प्रवाह गर्ने निर्णय पनि सरकारले गरेको छ । ‘अहिले तत्कालै भिसा अवरुद्ध गर्दा नेपालतर्फ हिँडिसकेका पर्यटक अप्ठ्यारोमा पर्न सक्छन्, त्यसैले सूचना प्रवाह गर्ने र त्यस्तो भिसा बिस्तारै रोक्ने नीति सरकारले लिएको छ,’ एक मन्त्रीले भने । कोरोना फैलिएको चीन र कोरिया आवतजावत गर्ने सबै हवाईसेवा बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले साढे दुई दशकको लक्ष्य राखेर आर्थिक वर्ष २०४४/४५ मा बबई सिँचाइ आयोजना सुरु ग-यो। यस आयोजनामार्फत बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने सरकारी लक्ष्य तीन दशक हुँदासम्म पनि पूरा भएको छैन। सरकारी लक्ष्यअनुसार यो आयोजना आर्थिक वर्ष २०६९/७० भित्रै निर्माण सम्पन्न हुनुपथ्र्याे।
तोकिएको समयभन्दा झण्डै सात वर्ष गुजारिसकेको यो आयोजना निर्माणकै चरणमा छ। बबई मात्र होइन् सरकारले अघि सारेका आधा दर्जनभन्दा धेरै गौरवका आयोजना एक दशकभन्दा बढी समय बित्दा पनि निर्माण सम्पन्न हुन नसकेको नागरिक दैनिकमा समाचार छ । सरकारले वर्षैपिच्छे बबई सिँचाइ आयोजनाको कार्यतालिका संशोधन गरे पनि काममा विलम्ब भइरहेको छ। आयोजना बेलैमा सम्पन्न नहुँदा संशोधित कुल लागत १२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।
सरकारले पछिल्लो पटक आर्थिक वर्ष २०७८/७९ सम्म यो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा सो आयोजनाका लागि एक अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ६ महिनामा २९ करोड पाँच लाख रुपैयाँ अर्थात् १९.४ प्रतिशत मात्रै खर्च भएको छ। पछिल्लो वर्षको समीक्षा अवधिसम्म १.५ किलोमिटर मूलनहर निर्माणको लाइनिङ तथा ५.५ किलोमिटर शाखा तथा प्रशाखा नहर निर्माण भएको छ।
बबई आयोजनाका निर्देशक मधुकर रानाले सरकारले आवश्यकभन्दा कम बजेट विनियोजन गरेकाले तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन नसकेको बताए। ‘यो आयोजनाका लागि अर्बाै रुपैयाँ आवश्यक पर्नेैमा सरकारले करोड मात्रै विनियोजन गर्दा काम तीव्र रुपमा अघि बढाउन सकिएन,’ उनले नागरिकसँग भने, ‘पहिला–पहिला अति नै कम बजेट विनियोजन भएकाले आयोजना समयमा निर्माण हुन नसकेको हो।’ निर्देशक रानाले अहिले पनि आयोजनामा बजेट अभाव कायमै भएको जानकारी दिए।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आइतबारदेखि त्रिभुवन विमानस्थल भएर आवतजावत गर्ने सबैको स्वास्थ्य जाँच सुरु गरिएको कान्तिपुर दैनिकमा समाचार छ । विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो मुलुक जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँचको डेस्क अनिवार्य पार गर्नुपर्ने व्यवस्था गरिएको हो ।
त्यस्तै जहाज काठमाडौं अवतरणका क्रममा अनबोर्डमा रहेका यात्रु तथा आगमन र प्रस्थान कक्षमा अंग्रेजी, चिनियाँ र नेपाली भाषामा जानकारीमूलक सूचना प्रवाह सुरु गरिएको छ । आइतबारबाटै विमानस्थलमा यात्रुहरूको शरीरको तापक्रम जाँच्ने ‘थर्मल स्क्यानर’ बाहेक ‘लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे’ पनि प्रयोगमा ल्याइएको छ । कोभिड–१९ को बढ्दो जोखिमलाई गम्भीरताका साथ लिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवर्द्धनका कार्यक्रम हाललाई स्थगन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै यात्रुलाई कडाइका साथ निगरानी गर्ने निर्णय गरेको हो ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ को संक्रमण रोकथामका उपाय अपनाउन मातहतका निकायका प्रमुखहरूसँग आइतबार दिउँसो बैठक गरे । त्यसमा विमानस्थलमा यात्रुलाई कडाइका साथ निगरानी बढाउने लगायतका नौवटा निर्णय गरिएको छ । सबै यात्रुको स्वास्थ्य जाँचको प्रबन्ध गर्न मन्त्री भट्टराईले विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीलाई निर्देशन दिए । बैठकले आइतबारै विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्णको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्दै विमानस्थलभित्र थप स्थान पहिचान गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




