काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका तीन जनाको पहिचान खुलाइएको छ । पक्राउ पर्नेहरुमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी, अमृत कुमाल र कालिकोटका टेक लोहार (भिसेक गिरी) रहेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

उनीहरुलाई प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको थियो । गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।

पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट भएको थियो । विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ ।

पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको थियो भने बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको थियो। मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार