काठमाडौं । कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ । कुवेतमा आइतबार साँझसम्म थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले भनेको छ ।

कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले भनेको छ ।
यस्तै वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब ३ हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ।

कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि एम्नेष्टीको ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो। त्यसमा नेपालको पालो २६ अप्रिल देखि ३० सम्म राखेको थियो। तीन हजार भन्दा बढी नेपालीले आवेदन दिएको दूतावास अधिकारीले जानकारी दिए।

साउदी अरेबियाले पनि कोभिड अघि घोषणा गरेको एम्नेष्टी खोल्न सक्नेछ भने त्यस्तै एमनेस्टी यूएईले पनि गर्न सक्ने दूतावास अधिकारीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन्।

यता मलेसियाले पनि फर्कनेका लागि आइतबार सूचना जारी गरिसकेको छ। साउदी, कतार, युएई, मलेसिया, कुवेत अधिक नेपाली कामदार रहेको मुलुकमा पर्छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार