लण्डन – कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा ७५ वर्षीय पूर्व गोर्खा सैनिक नारायण कोन्मे गुरुङको मृत्यु भएको छ । ननिटनको ‘जर्ज इलिएट अस्पताल’ मा उपचारकै क्रममा मृत्यु भएको हो ।

अन्य कुनै किसिमको रोग नभएका गुरुङलाई श्वासप्रश्वासको समस्या देखिएपछि अप्रिल २६ का दिन अस्पताल भर्ना गरिएको थियो । गुरुङलाई कोरोनाको पुष्टि भएको जानकारी अस्पतालले दिएको थियो । पर्वत जिल्लाको थाना, मौला स्थायी घर भएका स्वर्गीय गुरुङका श्रीमती दुई छोरा र एक छोरी बेलायतमा नै बस्दै आएका छन् ।

सामाजिक सेवामा समेत रुची राख्ने गुरुङ बेलायतका विभिन्न संघसंस्थामा आबद्ध रहँदै आएका थिए । गैरआवासीय नेपाली संघ यूकेद्वारा संचालित कोभिड– १९ को राहत कोषको लागि सदस्यको समेत भूमिका निर्वाह गर्दै आएका थिए ।

एनआरएनए यूके, तमुधिं यूके जस्ता संस्थामा सल्लाहकार रहेका उनी चारभञ्ज्याङ तमु समाज यूकेका संस्थापक र वर्तमान संरक्षक हुन् । चारभञ्ज्याङ तमु समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहेका गुरुङ बेलायतस्थित कोने (घोताने÷घोण्डे) समाज यूकेका संस्थापक वरिष्ठ सल्लाहकार थिए ।

बेलायतमा कोरोनाको संक्रमणबाट चार दर्जनभन्दा बढी गैर आवासीय नेपालीहरुको मृत्यु भइसकेको छ । जसमध्ये तीन दर्जनभन्दा बढी पूर्व गोर्खा सैनिकहरु रहेका छन् । बेलायतमा मात्र हालसम्म कोरोनाको संक्रमणबाट २८ हजार ७ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार