एजेन्सी – स्पेनिस च्याम्पियन रियाल म्याड्रिडले समूह विजेता बन्दै यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ । बुधबार घरेलु मैदानमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २–० ले पराजित गर्दै रियाल नकआउट चरणमा प्रवेश गरेको हो ।

समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेपछि रियल समूह विजेता बन्न सफल रहयो । यस समूहबाट रियल शीर्षस्थानमा रहेर नकआउट चरण पुग्दा मोन्चेनग्लाडबाक उपविजेता बन्दै अघि बढेको छ ।

रियलले ६ खेलमा १० अंक जोड्दा ग्लाडबाक र शाख्तरको समान ८–८ अंक रहयो । हेड टु हेडमा पछि परेको शाख्तरले युरोपा लिग खेल्नेछ । ६ अंकसहित पुछारमा रहेको इन्टर मिलानको युरोप यात्रा समाप्त भएको छ ।

खेलको नवौं मिनेटमा नै रियलले बेन्जेमाको गोलमा अग्रता लियो । लुकास भाज्केजको क्रसलाई बेन्जेमाले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । रियलले जर्मन टोलीविरुद्ध बल पोसेसनमा पकड जमाउँदै लगातार आक्रमण बुनेपनि जर्मन टोलीका गोलरक्षक यान सोमरले केहि उत्कृष्ट बचाउ गरे ।

३२ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले रोड्रीगोको क्रसमा हेडरमार्फत नै गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार