काठमाडौं । काठमाडौंको टोखामा शुक्रबार राति मृत भेटिएकी सुदिक्षा गिरीले उनको श्रीमान उमेश केसीको हत्यापछि आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । अनुसन्धानलाई पुष्टि गर्ने गरी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टममा संलग्न चिकित्सकले प्रारम्भिक विवरण प्रहरीलाई दिएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंह भन्छन्, ‘हालसम्मको अनुसन्धान, पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले हत्यापछि आत्महत्या नै गरेको हुनसक्ने देखिएको छ । अन्य पाटोबाट पनि विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

काठमाडौं प्रहरी परिसर, टेकुका अनुसन्धान अधिकृतका अनुसार केसीको बायाँपट्टीको टाउको फ्याक्चर हुने गरी सिलौटो प्रहार गरिएको पाइएको छ । ‘रगत लत्पतिएको सिलौटो बरामद भइसकेको छ, प्रहारबाट उच्च रक्तश्राव भइ मृत्यु भएको चिकित्सकहरुको भनाइ छ’, अनुसन्धानमा संलग्न अधिकृतले भने, ‘चित्सिकहरुको निष्कर्ष डेथ ड्यु टु ब्लन्ट फोर्स इन्जुरी भन्ने छ ।’

चिकित्सकका अनुसार केसीको शरीरको अन्य भागमा कुनै चोटपटक देखिएको छैन । उनको मृत्युको करिब १२ घन्टापछि मात्रै सुदिक्षाले आत्महत्या गरेको भनिएको छ । ‘उमेशको शव नै सड्न लागेको अवस्थामा भेटिएको थियो, हेर्दै अलि पुरानो हुनसक्ने आशंका गरेका थियौं’, अनुसन्धान अधिकृतहरु भन्छन्, ‘सुदिक्षाको घाँटीमा लिगेचर मार्कबाहेक अन्य कुनै पनि संकेत शरीरमा देखिएको छैन ।’

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार