काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कीर्तिमानी र सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । दशरथ रंगशालामा थ्री नेसन्स कपको बंगलादेशविरुद्धको फाइनल खेलपछि विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन् ।

एक वर्षभन्दा लामो समयदेखि टोली बाहिर रहेका विराजले घरेलु मैदानमा विश्वकप छनोटको खेलमार्फत सन्न्यास लिने सोच बनाएका थिए । विश्वकप छनोटको खेल दशरथ रंगशालामा नहुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल, बंगलादेशका राष्ट्रिय टोली तथा कीर्गिस्तानको यू–२३ सम्मिलित थ्री नेसन्स कप आयोजना गरेको थियो ।

यहि प्रतियोगितामार्फत विराजले सन्यास लिने योजना बुनेका थिए । ३१ वर्षीय विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपनि घरेलु फुटबलमा भने निरन्तर खेल्ने बताएका छन् । उनले फाइनलमा बंगलादेशविरुद्ध ८९औं मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदान प्रवेश गर्दे आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेले । उनले निर्धारित समयको १ मिनेट र इन्ज्युरी समयको थप गरिएको अन्तिम ६ मिनेट नेपाली टोलीको कप्तानी गरे । खेल सकिएपछि उनलाई टिमको सहयात्रीले काधमा बोक्दै मैदान परिक्रमा गराएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लेजर लगाएर राष्ट्रिय टोलीबाट स–सम्मान बिदाई गरे । ‘दशरथ रंगशालामा घरेलु समर्थकमाँझबाट सन्न्यास लिने योजना बनाएको थियो । त्यो पुरा भएको छ । एकदमै खुशी छु । आज आफु पुरा भएको ठानेको छु । खेलाडीको रुपमा यो ठुलो दिन हो । आफ्नो जिम्मेवारी पुरा गरेर यहाँसम्म आएको छु । मेरो टिम सहयात्री, प्रशिक्षण टोली र समर्थकलाई जीवनभर बिर्सने छैन ।

एन्फा, प्रशिक्षण टोली र टिम परिवारप्रति विशेष आभारी छु ।’ अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपनि घरेलु फुटबलमा निरन्तर रहनेछु ।’ विराजले भने । नेपाली टोलीका कप्तान किरण चेम्जोङले विराजलाई ट्रफीसहित बिदाई गर्न पाउदा खुशी रहेको बताए । उनले आफ्नो कप्तानीमा पहिलो अफिसियल उपाधि जित्न पाउदा खुशी रहेको समेत बताउदै सबै समर्थकलाई धन्यवाद व्यक्त गरे ।

‘नोभेम्वरमा खेलेको टोली र अहिले यहाँ खेलेको टोलीमा धेरै फरक छ । त्यतिबेला हामी पुर्ण रुपमा फिट थिएनौ । टोलीले धेरै राम्रो खेलेको छ । युवा र डेब्यु खेलाडीमा धेरै राम्रो सम्भावना देखेको छु ।’ च्याम्पियन बनेपछि कप्तान किरणले भने, ‘यसरी नै निरन्तर प्रशिक्षण गर्दै जाने हो भने साफ च्याम्पियनसिप मात्रै नभई एसियन कप पनि टाढा छैन ।’ विराज नेपालका सफल कप्तान मध्ये पर्दछन् ।

सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमार्फत विराजले राष्ट्रिय टोली डेब्यू गरेका थिए । दशक भन्दा लामो समय खेल्दै कीर्तिमानी क्याप जितेका विराजको कप्तानीमा नेपालले २०७२ मा बंगबन्धु गोल्डकप, सोही वर्ष १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो । त्यस्तै २०७३ मा नेपालले एएफसी सोलिडारिटी कप जित्दा विराज मैदानका कप्तान थिए ।

तीन अलग अलग क्लब थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब र गत वर्ष मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका झन्डै १२ वर्ष निरन्तर राष्ट्रिय टोलीबाट खेलेका विराज एन्फा एकेडेमीका तेस्रो ब्याचका उत्पादन हुन् । सबै उमेर समूहबाट खेलेका विराजले नेपालका सर्वाधिक ७३ क्याप जितेका छन् । उनले आफ्नै प्रशिक्षक समेत रहेका पूर्व कप्तान राजु शाक्यको नाममा रहेको ६८ अन्तर्राष्ट्रिय खेलको कीर्तिमानी तोडेका थिए । विराज नेपाली फुटबलका सफल रक्षक मध्येका एक मानिन्छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार