काठमाडौं । विश्वकप तथा एसियन कप छनोटमा जोर्डनले नेपालमाथि सहज जित दर्ता गरेको छ । एकपक्षीय खेलमा जोर्डन ३–० ले विजयी भएको छ ।

कुवेत सिटीमा सोमबार खेलको १४औं मिनेटमा जोर्डनका मोहमद सुलेमानले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई किरणले आफ्नो बायाँतर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे । २१औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्रभित्र बल गुमाएपनि डिफेन्डर अनन्त तामाङले ६ यार्ड बक्स भित्र आएको लो क्रसलाई क्लियर गर्दै खतरा टारे ।

२३औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लियो । रोहित चन्दले सुलेमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिए । बाहा फैसल सेफले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । गोलरक्षक किरणले सहि दिशामा डाइभ दिएपनि सेफको शक्तिशाली प्रहार रोक्न सकेनन् ।

४२औं मिनेटमा जोर्डनले अग्रता दोब्बर पर्ने अवसर गुमायो । किरण चेम्जोङले पहिलो प्रहार बचाएपछि जोर्डनका खेलाडीले रिबाउन्डमा गरेको दोहोरो प्रहारले पोस्टको दिशा लिन सकेन । इन्ज्युरी समयमा सुलेमानले तीन फेडिफेन्डरलाई छक्याउँदै गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।

४९औं मिनेटमा सेफले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा झन्डै ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली फ्रिकिक गोलरक्षक किरणलाई बिट गर्दै टप कर्नरमा गोल भएको थियो ।

६८ औं मिनेटमा जोर्डनले ३–० को अग्रता लियो । दायाँ विंगबाट आएको क्रसलाई याजान अलअरबले फार पोस्टमा सहजै हेडरमार्फत गोल गरेका थिए । ८६ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै विशाल राईले लामो दुरीबाट गरेको प्रहार पनि बाहिरियो ।

यस जितसँगै जोर्डनको ६ खेलमा १३ अंक पुगेको छ भने कुवेत समान खेलमा १० अंक सहित तेस्रो स्थानमा छ । नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ । नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अर्को खेलमा जित हासिल गरेर अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ ।

हार बेहोरेपनि नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन भने सक्नेछ । नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९:४५ सुरु हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार