एजेन्सी । उपाधिको बलियो दावेदार मानिएको इंग्ल्यान्डले युरोपेली च्याम्पियसिपमा विश्व उपविजेता क्रोएसियालाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको इंग्ल्यान्डको जितमा रहिम स्टर्लिङले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलको सुरुवातदेखि नै क्रोएसियालाई दवावमा राखेपनि इंग्ल्यान्डले दोस्रो हाफमा मात्रै गोल गर्न सफल भएको थियो ।

खेलको छैटौ मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्कदा अग्रता लिनबाट चुकेको इंग्ल्यान्डले नवौं मिनेटमा अर्काे अवसर खेर फालेको थियो । काल्भिन फिलिप्सको भली प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले मुस्किलले नियन्त्रणमा लिएका थिए । ५७औं मिनेटमा अग्रता लिन सफल भयो ।

काल्भिन फिलिप्सले दुई खेलाडीलाई बिट गर्दै दिएको चलाखीपुर्ण पासमा रहिम स्टर्लिङले क्रोएसियन डिफेन्डरले ब्लक गर्ने प्रयास गरेपनि वान टचमै गरेको प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिकको हातमा लाग्दै गोल हुन पुगेको थियो । स्टर्लिङको पछिल्लो १७ खेलमा १३औं गोल हो । उनले ६१ खेलमा १५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

६०औं मिनेटमा मासन माउन्टको क्रसमा कप्तान ह्यारी केनले सदुपयोग गर्न नसक्दा इंग्ल्यान्ड अग्रता दोब्बर पार्नबाट चुक्यो । ६५औं मिनेटमा माटियो कोभासिसको पेनाल्टी बक्स बाहिरको प्रहार रिवाउन्ड हुदा एन्टी रेविचको प्रहार बाहिरिदा क्रोएसिया बराबरीबाट चुक्यो । यो जितपछि समूह ‘डी’ मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ । पराजित क्रोएसिया पुछारमा रहेको छ । यो समूहको चेक रिपब्लिक र स्कटल्यान्डबीको खेल सोमबार राति हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार