एजेन्सी । युरोपेली च्याम्पियसिपमा स्वीडेनले स्लोभाकियालाई १–० ले पराजित गरेको छ । सेन्ट पिटर्सवर्गमा शुक्रबार राति भएको खेलमा स्वीडेनो जितमा इमिल फोर्सवर्गले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

समूह चरणमा स्वीडेनको यो पहिलो जित हो स्वीडेनले यसअघि स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो । स्लोभाकियाको यो पहिलो हार हो । यसअघि स्लोभाकियाले पोल्यान्डलाई १–० ले स्तब्ध पारेको थियो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुवर्ण अवसर खेर फालेका थिए । ७७औं मिनेटमा इमिल फोर्सवर्गले पेनाल्टीमा गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए ।

इसाकको फ्लिक पासमा रोविन क्वाइसनलाई पेनाल्टी बक्समा मार्टिन डुभ्रावकाले फउल गरेपछि रेफ्रीले स्वीडेनलाई पेनाल्टी प्रदान गरेको थियो । गोलरक्षक मार्टिन डुभ्रावकाले सही दिशामा डाइभ दिएपनि फोर्सवर्गले गोल गर्न सफल भए । ८२औं मिनेटमा इसाकले अर्काे अवसर खेर फाल्दा स्वीडेन अग्रता दोब्बर पार्नबाट चुक्यो ।

यो जितसँगै समूह ‘ई’ मा स्वीडेन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लदा पराजित स्लोभाकिया २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । एक खेलेका स्पेन १ अंकसहित तेस्रो स्थानमा अकविहीन पोल्यान्ड पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार