काठमाडौं । दलितलाई कोठा दिन अस्वीकार गर्ने घरधनीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेर मुद्दा चलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

पक्राउ परेकी घरबेटी सरस्वती प्रधानले ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ । प्रहरीले सञ्चारकर्मी रुपा सुनारको उजुरीका आधारमा दलित भनेर कोठा भाडामा नदिएको आरोपमा उनलाई पक्राउ गरेको थियो ।

सरस्वतीलाई ३ दिनको म्याद लिएर आइतबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। परीसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले भने, ‘जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर पक्राउ गरिएको छ । अब ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिन्छ ।’

अनुसन्धानबाट आरोप प्रमाणित भएमा आवश्यक कारवाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्धा पेश गर्ने उनको भनाई छ । तर, ३ दिनको अनुसन्धानबाट मुद्धा किनारा नलागे म्याद थपिन पनि सक्नेछ ।

रुपाले असार १ गते बवरमहलमा घर भएकी घरधनी सरस्वती प्रधानले सबै कुरा मिलेपछि दलित भन्ने थाहा पाएर कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार