काठमाडौं । नेपाल प्रहरीले दक्षिणकालीमा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २९ वर्षीय सुरेश तिमिल्सिनाले प्रहारीसमक्ष सन्तोषीको हत्या गरेको स्वीकार गरेका हुन् ।
सन्तोषीको असार ६ गते आइतबार साँझ हत्या भएको थियो । यौनसम्बन्ध राख्न नदिएपछि सन्तोषीको हत्या गरेको आरोपीले बयान दिएका छन् ।
यसरी भयो सन्तोषीको हत्या
सन्तोषी असार ५ गते शनिवार दक्षिणकाली पुगेकी थिइन् । त्यसदिन उनले त्यहीँको एक होटलमा बास मागेर बसेकी थिइन् । असार ६ गते आइतबार बिहानै उनी दक्षिणकालीमा रहेको एक चिया पसलमा चिया खान पुगिन् ।
सन्तोषी चिया खान पुगेकी पसलमा त्यो भन्दा पहिले नै सिन्धुपाल्चोकका सुरेश तिमिल्सिना लगायतका केही व्यक्तिहरु मदिरा सेवन गरेर बसिरहेका थिए । सन्तोषीले आफू विभिन्न चरा र जनावरको आवाज निकाल्ने युटुबमा भाइरल सन्तोषी सुब्बा रहेको भन्दै परिचय दिएकी थिइन् । त्यसैक्रममा सुरेश र सन्तोषीबीच चिनजान भएको थियो ।
चिनजान भएपछि सन्तोषी पनि दिनभर त्यही भट्टी पसलमा बसेर खाजा खाएकी थिइन् । सुरेशले सन्तोषीलाई खाजा खुवाएको प्रहरीले बताएको छ । साँझपख सन्तोषीले राती बस्नका लागि बास खोजिदिन सुरेशलाई आग्रह गरेकी थिइन् । त्यसपछि सुरेशले आफ्नो गाडीमै सुत्दा हुन्छ भनेर सन्तोषीलाई फकाएका थिए । सन्तोषी पनि सुरेशले भनेको गाडीमै बस्नका लागि राजी भएकी थिइन् ।
साँझ ६ बजेतिर सुरेश र सन्तोषी भट्टी पसलबाट दक्षिणकालीतर्फ गएका थिए । जङ्गलको छेउमा पुगेपछि साँझ करिब ७ बजेतिर सुरेशले सन्तोषीसँग यौन सम्बन्ध स्थापित गर्न खोजेको प्रहरीको दाबी छ । तर सन्तोषीले यौनसम्बन्ध राख्न अस्वीकार गरेपछि सुरेश र सन्तोषीबीच घम्साघम्सी भएको पाइएको छ । सन्तोषीले यौनसम्बन्ध राख्न नमानी प्रतिकार गरी चिच्याउन थालेपछि सुरेशले सन्तोषीमाथि हातपात गरे । सुरेशको हातमा पनि चोट लाग्यो ।
तर सन्तोषीले बलात्कारको प्रयासबारे अरुलाई भनिदिने डरका कारण सुरेशले सन्तोषीलाई मार्ने निर्णय गरे । त्यसपछि सुरेशले सन्तोषीले लगाइरहेको सलले घाँटी कसेर उनको हत्या गरे । हत्या गरेपछि उनले सन्तोषीलाई कसैले नचिनोस् भनेर ढुङ्गाले पटकपटक अनुहारमा प्रहार गरेर क्षतिविक्षत बनाएका थिए ।
त्यसपछि सन्तोषीको शव पिकनिक स्पट नजिकै रहेको पुरानो शौचालयमा पुराएर सुरेश त्यहाँबाट भागेका थिए । दक्षिणकाली चोकमा आएर केही समय बसेपछि उनले आफ्नी आमा सिकिस्त बिरामी भएको भन्दै त्यहाँका एक स्थानीयलाई ट्याक्सी बोलाइदिन आग्रह गरे । स्थानीयले ट्याक्सी बोलाइदिएपछि उनी २ हजार रुपैयाँ तिरेर राती ९ बजे दक्षिणकालीबाट असन आएका थिए ।
प्रहरीका अनुसार ट्याक्सी खोज्ने बेलामा उनले आमा सिकिस्त भएको भनेपनि ट्याक्सी चालकलाई भने आफ्नो बुवा बिरामी भएको बताएका थिए । ट्याक्सी चढ्ने क्रममा पनि उनी हतास र आत्तिएको अवस्थामा भेटिएका थिए ।
असार ६ गते साँझ सन्तोषीको हत्या गरेपछि उनी असन कमलाछीमा रहेको साथीको कोठामा गएर बसेका थिए । मंगलबार सन्तोषीको शव भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । मंगलबार र बुधबार मृतकको पहिचानकै लागि समय खर्चिएको प्रहरीले बिहीबार पहिचान गरेसँगै हत्या आरोपीबारे खोजी भएको थियो ।
मृतक महिला युटुबमा भाइरल सन्तोषी भन्ने थाहा पाएलगत्तै प्रहरीले घटनास्थल वरपरका स्थानीयसँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा सन्तोषी असार ६ गते दिनभर एक खाजा पसलमा बसेर सुरेश लगायतका केही युवासँगै खाजा खाएको पत्ता लागेपछि प्रहरीले ती युवकको खोजी गरेको थियो ।
खोजीका क्रममा सुरेश घटना भएको दिनपछि दक्षिणकाली छाडेर भागेको जानकारी आएपछि प्रहरीले सुरेशलाई शंकितको सूचीमा राखेको थियो । प्रहरीले बिहीबार फोन गरी सुरेशसँग कुराकानी गर्दा आफू असार ६ गते आइतबार साँझ ५ बजे नै दक्षिणकालीबाट निस्किएको जवाफ दिएका थिए । जबकि प्रहरीले सोधपुछका क्रममा सुरेश आइतबार राति ९ बजे मात्रै दक्षिणकालीबाट ट्याक्सी चढेर गएको पत्ता लगाएको थियो ।
सुरेशले प्रहरीसँग कुराकानी गर्दा सुरुमै ढाँटेपछि प्रहरीलाई सुरेशमाथि झनै शंका बढ्यो । सुरेशले केही समयमै आफ्नो मोबाइलको स्वीचसमेत अफ गरेपछि प्रहरी सुरेशको कल डिटेल,लोकेशन लगायतको प्राविधिक विश्लेषण गर्दै सुरेश बसेको कोठामै पुगेको थियो ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुरेशले असनस्थित उनका साथीको कोठाबाट बिहीबार साँझ ६ बजे पक्राउ गरेको थियो ।
सुरुमा आफ्नो अपराधबारे इन्कार गरेका सुरेशले पछि घटनाको बेलीबिस्तार लगाउँदै आफ्नो कर्तुत प्रहरीसमक्ष स्वीकार गरेका थिए । सुरुमा सँगै बस्ने सहमति भएर गएको तर सन्तोषीले यौनसम्बन्ध राख्न नदिएपछि घम्साघम्सी भएको र त्यो कुरा बाहिर आउने डरले आफूले उनको हत्या गरेको बयान दिएका थिए ।
सन्तोषीको हत्या आफूले गरेको स्वीकार गरेको भएपनि उक्त दिन आफूले अत्याधिक मदिरा सेवन गरेको कारण बलात्कार गरेको वा नगरेको थाहा नभएको आरोपीले प्रहरीलाई बयान दिएका छन् ।यद्यपि आरोपीले घटनापछि आफूले पाइन्ट खोलिसकेको अवस्थामा पाएको र पाइन्ट लगाएको मात्रै थाहा भएको बताएका छन् ।
प्रहरीका अनुसार सन्तोषीमाथि बलात्कार भएको हो कि होइन भनेर परीक्षण गर्नका लागि भेजाइनल स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । त्यसपछि मात्रै बलात्कार भएको हो वा होइन भन्ने जानकारी आउने प्रहरीले बताएको छ । प्रहरीले मृतक सन्तोषीको सलमा भने कटकटिएको अवस्थामा सेतोपदार्थ फेला पारेको छ । उक्त सेतोपदार्थ आरोपीको वीर्य हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




