एजेन्सी । साविक विजेता ब्राजिललाई उसकै मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने क्रममा ब्राजिललाई १-० ले पराजित गरेको हो ।

पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक परिवर्तन गर्दै सुधारिएको प्रदर्शन गरेपनि खेलमा फर्कन सकेन । गोलरक्षक एमिलिआनो मार्टिनेजले केहि सुन्दर बचाउ गर्दै अर्जेन्टिनाको अग्रता जोगाएका थिए ।

खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डी मारियाले बलमा नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए ।

५२ औं मिनेटमा रिचार्लीसंले गोल गरेपनि रेफ्रीले अफसाइड भन्दै गोललाई मान्यता दिएनन् । लगत्तै गोलरक्षक एमिलिआनो मार्टिनेजले रिचार्लीसनको प्रहारमा उत्कृष्ट बचाउ गर्दै खेलमा अग्रता कायम राखे । ६५ औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्र भिडभाडको अवस्थामा गरेको प्रहार गोलरक्षकसम्म पुग्न सकेन ।

८७ औं मिनेटमा गोलरक्षक मार्टिनेजले सानदार बचाउ गर्दै अर्जेन्टिनाको अग्रता कायम राखे । कर्नरमा आएको रिबाउन्डमा ग्याबिगलले गरेको शक्तिशाली प्रहारलाई मार्टिनेजले पन्च गरेर बाहिर पठाएका थिए । लगत्तै अर्कोतर्फ मेस्सीले अर्जेन्टिनाको जित पक्का गर्ने सुवर्ण अवसर खेर फाले । उनले डे पलको पासमा पेनाल्टी क्षेत्र भित्र वन भर्सेस वनको स्थितिमा बल प्रहार गर्न ढिलो गर्दा एडरसनले बचाएका थिए ।

इन्ज्युरी समयमा एडरसनले डे पलको प्रहारलाई वन भर्सेस वनको स्थितिमा विफल पार्दै झिनो आशा कायम राखेका थिए । तर त्यसपछि ब्राजिलले कुनै आक्रमण बुन्न नसक्दा अर्जेन्टिना उपाधि जित्न सफल रहयो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार