दाङ . दाङको तुलसीपुरमा कुखुराको भाले मरेपछि उनका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन्। तुलसीपुर उपमहानगरपालिका – १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा लगि अन्तिम संस्कार गरेका हुन् ।

‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ गते मर्‍यो,’ सुवेदीले भने, ‘त्यो खबर थाहा पाएर गाउँलेहरू जम्मा हुनुभयो, २५ जना मलामी भएर टौवा खोलामा भालेको अन्तिम संस्कार गर्‍यौं।’ भाले मरेपछि मानिसको मृत्युजस्तै गरी गाउँलेहरूले खटमा भालेलाई बोकेर खोलासम्म पुर्‍याएका थिए।

धेरै लामो समयसम्म पालेको भालेलाई परिवारको सदस्यजस्तै मानेर आफू र गाउँलेले त्यसको मृत्यु पछि शोक मनाएको सुवेदीले बताए। भाले मरेपछि आफूलाई निकै दुःख लागेकाले भालेको सम्मानका लागि हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरेको उनले बताए।

घरमै जन्मिएर हुर्किएको भाले २० वर्षसम्म पाल्छु भनेर सुवेदीले कहिल्यै सोचेका थिएनन्। सुरूमा उनले (ब्याड) बेलनका रूपमा उक्त भाले पालेर राखेका थिए। एकाध वर्षपछि आफ्नो बुवाको पेन्सन घरमै पठाएर सहयोग गर्ने घोराहीका शिक्षक डोमकान्त अधिकारीलाई खुवाउन भनेर उनले त्यो भाले जोगाएर राखे।

अधिकारी आफ्नो घरमा आउलान् र त्यो भाले काटेर खुवाउँला भन्दाभन्दै ५–७ वर्ष बित्यो। ‘अधिकारी सरले जहिल्यै भोलि आउँछु भन्नुभयो, तर कहिल्यै आउनुभएन,’ सुवेदीले भने, ‘मैले उहाँलाई बाटो हेर्दाहेर्दा भाले १४ वर्षको पुग्यो, तर उहाँ आउनु भएन।’

भाले १४ वर्षको पुगेपछि सुवेदीले पनि उक्त भाले नकाट्ने सोच बनाए। त्यसको पछाडि खास कारण थिएन। तै उनलाई एउटा भाले कति वर्ष बाँच्दो रहेछरु भन्ने कौतोहुलता भयो। त्यसैले अब अधिकारी पाहुनाका रूपमा आए पनि अर्कै भाले खुवाउने सोचमा सुवेदी पुगे। सुवेदीको घरमा अधिकारी कहिल्यै आएनन्।

झन्डै २० वर्षमा सुवेदीले घरमा पालेका थुप्रै कुखुरा जन्मिए, हुर्किए, कति बेचे र कति रोगले मरे। उनीहरूका बारे सुवेदीले खासै वास्ता गरेनन्। तर, घरको सबैभन्दा बुढो भाले भने कहिल्यै रोगले थलिएन।

गाउँमा रोग लागेर सबैका कुखुराहरू धेरै पटक स्वाहा भए। असार महिनामा मात्रै सुवेदीले घरमा पालेकामध्ये ४१ वटा कुखुरा रोगले मरे। तर त्यो बुढो भालेलाई रोग लागेन।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार