पोखरा । बलात्कारपछि हत्या आरोपमा स्याङ्जा हरिनास गाउँपालिका–६ चालिसेका ४५ वर्षीय खड्गबहादुर खवास पक्राउ परेका छन् । घटनाको १४ महिनापछि समातिएका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

खवासले मादी–१० मकैखोला बस्ने १७ वर्षीया कोपिला परियारको बलात्कारपछि हत्या स्विकारेको प्रहरीको भनाइ छ । अर्धनग्न अवस्थामा कोपिलाको सडेगलेको शव गत वर्ष असार २५ मा मादी गाउँपालिका–११ मुखियाशेरको पातीघारीमा फेला परेको थियो ।

जनकल्याण माविको भवन बनाउने कामदारको रूपमा खवास गतवर्ष मकैखोला पुगेका थिए । दोस्रो श्रीमतीसहित गएका उनले सुस्त मनस्थितिकी कोपिलासँग हिमचिम बढाएको स्थानीय बताउँछन् ।

कोपिलाको मृत्यु रहस्यमै
सानै छँदा बुबाआमाको सम्बन्ध बिग्रिएपछि कोपिलामा मानसिक असर परेको थियो । उनी र भाइलाई लिएर आमा सीता मादी–९ चिलिमडाँडाबाट माइती मकैखोला आइन् । र, अर्कैसँग बिहे गरिन् । बुबा वैदेशिक रोजगारमा अरब गएका थिए । कोपिला मामाघरकै हजुरबा–हजुरआमासँग बस्न थालिन् । उनको अवस्था थाहा पाएर कोपिला नेपाल नामक गैरसरकारी संस्थाले पोखरामा संरक्षण गरेर राख्यो । १० वर्ष बसेर उनी दुई वर्षअघि मकैखोला फर्किएकी थिइन् ।

असार १५ गते भने उनी अबेरसम्म घर नफर्किएपछि हजुरबुबा कुलबहादुरले यताउति सोधखोज गरे । त्यसको १० दिनपछि असार २५ मा मादी–१० र ११ को सिमाना मुखियाशेर मौरीखोला नजिकै गोठालाले कुहिएको अवस्थामा शव देखे । माथिल्लो भागमा कुर्ता भए पनि कम्मरमुनि सुरुवाल थिएन । कपडाकै आधारमा शव कोपिलाकै भएको पहिचान गरिएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापा आफैं घटनास्थल पुगेर अनुसन्धानमा जुटेका थिए । घटनाको १४ महिनापछि खवासले नै बालिकाको बलात्कारपछि हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो । प्रहरीले सार्वजनिक गरेको भिडियो क्लिपमा आरोपितले कोपिलासँग सहमतिमै शारीरिक सम्पर्क हुँदै आएको बयान दिएका छन् । शारीरिक सम्पर्कपछि उनकै सुरुवालले घाँटी कसेर हत्या गरेको खवासको भनाइ छ ।

स्याङ्जा प्रहरीको सहयोगमा खवासलाई सदरमुकामबाट पक्राउ गरिएको हो । उनलाई सुस्त मनस्थितिकी बालिकामाथि जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार