टोकियो । टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा गोवर्द्धन रेपेचेजतर्फको फाइनलमा पराजित हुदै ऐतिहासिक ओलम्पिक पदक जित्नबाट चुकेकी छिन् । पलेशा चीनकी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित भएपछि नेपाली खेलकुदको इतिहासमा पहिलो ओलम्पिक पदक जित्नबाट बन्चित बनेकी हुन् ।

यो खेल जितेको अवस्थामा उनले कास्य पदक हात पार्ने थिइन् । कास्य पदक भिडन्तमा चीनकी लीसँग पहिलो राउन्डमा पलेशाले ४–२ को अग्रता लिएकी थिइन् । दोस्रो राउन्डमा लीले ५–० ले जित्दै समग्रमा ७–४ को अग्रता लिइन् । तेस्रो तथा निर्णायक राउण्डमा ५–५ को बराबरी स्कोर गरेपनि उनी खेल जित्न असमर्थ रहिन् ।

खेल अवधिमा उनले ४ पल्टसम्म फलमार्फत विपक्षीलाई अंक सुम्पिदा समग्रमा १२–९ को पछि पर्दै कास्य जित्नबाट वञ्चित बनिन् । त्यो नै उनको हारको कारक बन्यो । त्यसअघि महिला के४४ विधाको ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशा प्रतियोगिताको पहिलो खेलमा ग्रेट ब्रिटेनकी बेथ मुनरोसँग पराजित भएकी थिइन् ।

पलेशा २१–८ ले पराजित भएपछि स्वर्ण पदकको सम्भावना समाप्त हुँदा रेपेचेजमार्फत कास्य पदकका लागि भने प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् । रेपेचेजतर्फ पलेशाले क्वाटरफाइनलमा अमेरिकी ब्रायना सालिनारोलाई १०–० ले पराजित गरेपछि सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । ओलम्पिक स्पर्धामा नेपालका कुनैपनि खेलाडीले जित हासिल गरेको यो नै पहिलो अवसर थियो ।

पलेशाले सेमिफाइनलमा सर्बियाकी मिसेभलाई हराउँदै पदक भिडन्तमा स्थान पक्का गरेकी थिइन् । मिसेभले पहिलो चरणमा ४–४ को बराबरी गरेपनि दोस्रोमा ७–२ र तेस्रोमा १२–९ को स्कोरले पलेशा समग्रमा २३–१५ ले विजयी रहिन् । यस जितले उनको लीसँगको भिडन्त पक्का भएको थियो । यो सँगै उनी ओलम्पिक स्पर्धामा दुई खेल जित्ने पहिलो नेपाली खेलाडी बनिन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार