सांकेतिक तस्विर

दैलेख । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा आरोपित दैलेखमा एक जना आरोपित व्यक्तिलाई १२ वर्षको कैद सजाय तोकिएको छ। दुल्लू नगरपालिका–१३ का २१ वर्षीय डम्बर भन्ने दिनेश बिकलाई जिल्ला अदालत दैलेखले सोमबार उक्त कैद सजाय तोकेको हो।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट भएको फैसलामा कैदको अलावा आरोपितले ५० हजार क्षतिपूर्ति र १८ सय रुपैयाँ पीडित राहत कोषमा तिर्नुपर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले बताए ।

पीडितलाई सहमतिमै यौन सम्बन्ध भएको भन्न लगाइएको भएपनि १८ वर्षभन्दा कम उमेर बालिकालाई मन्जुरी लिई गरेको करणीलाई बलात्कार मानिने भन्ने कानुनी व्यवस्था अनुसार सजाय भएको उनले बताए ।

२०७७ असार १५ गते जङ्गलमा बलात्कार गरेको घटनामा गएको चैत ५ गते छोरी जन्मेपछि पीडित पक्षले चैत १३ प्रहरीमा उजुरी गरेको थियो । उजुरी सम्बन्धमा प्रहरीले आरोपित बिकलाई ०७८ जेठ १५ गते गिरफ्तार गरी अनुसन्धान थालेको थियो ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले असार ६ गते दैलेख जिल्ला अदालतमा अभियोग पेस गरेकै दिन भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश लामिछानेको आदेशमा पुर्पक्षका लागि काराकार पठाइएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा २०७७ चैत १३ गते भएको थियो । किशोरीको बलात्कार भएको भनिएको घटनाकै बेला गर्भ रहन गएको र पीडितले त्यस बेला जन्माएको भनिएको नवजात शिशु छोरी जन्मेको समय मेल खाएको उल्लेख स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार