काठमाडौं । बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची) बाट हटाएको छ । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ । कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो । तर बिहीबार ४७ वटा देश रातो सूचीबाट हटेका छन् ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी ट्वीटरमार्फत दिएकी छन् । तर अझै पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश बेलायतको रातो सूचीमा कायम छन् ।

नेपाललाई रातो सूचीबाट हटाएपछि लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता श्रीमती रोशन खनालले बेलायत सरकारको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएकी छन् । उनका अनुसार अब बेलायत यात्रा गर्ने नेपाली विद्यार्थी तथा यात्रुहरुलाई सहज हुने छ ।

यसै वर्षको शुरूमा ब्रिटेनले संसारभरिका देशहरुलाई ‘रातो’, ‘पहेंलो’ र ‘हरियो’ गरी तीन सूचीमा राखेर वर्गीकरण गरेको थियो । बिहीबारको निर्णयबाट बेलायतले पहेंलो सूची हटाएर हरियो सूचीमा रहेका देशहरुको संख्या ह्वात्तै बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार