काठमाडौं, २८ भदौं । सर्वसाधारणले दसैँका लागि बुधबारदेखि नयाँ नोट साट्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले आफ्ना ८ कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत नयाँ नोट सटही सुविधा दिने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । उनले भने, ‘यसपालिलाई एकजना व्यक्तिले २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछन् ।’ यस वर्ष सर्वसाधारणलाई ५, १०, २०, ५० र १ सय दरका नयाँ नोट उपलब्ध गराइने केन्द्र बैंकले जनाएको छ । नयाँ नोट सटही सुविधा ७ असोजसम्म हुनेछ । यसैबीच यस वर्ष करिब ४० अर्ब रुपैयाँको नयाँ नोट सटही हुने अनुमान गरिएको प्रवक्ता पौडेलले बताए । उनका अनुसार अघिल्लो वर्ष करिब ३२ अर्ब रुपैयाँको नयाँ नोट सटही भएको थियो । राष्ट्र बैंकले ३ वर्षका लागि अनुमानित नयाँ नोट मौज्दात गर्ने गरेको छ । सोही मौज्दातबाट दसैँका वेलामा नयाँ नोट सटही सुविधा उपलब्ध हुन्छ । केन्द्र बैंकले दसैँलाई लक्षित सबै वर्गका बैंक तथा वित्तीय संस्थालाई निश्चित कोटा नै छुट्याएर नयाँ नोट उपलब्ध गराउँदै आएको छ । राष्ट्र बैंकअन्तर्गत सञ्चालित नोट कोष रहेका बैंकबाट समेत सर्वसाधारणले नयाँ नोट साट्न पाउने उनले जानकारी दिए ।
राष्ट्र बैंकको काठमाडौंको थापाथली र क्षेत्रीय कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयमा नयाँ नोट साट्न पाइनेछ । त्यस्तै, नेपाल बैंक लिमिटेडको न्युरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखा, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार र नक्सालबाट नयाँ नोट सटही गर्न सकिनेछ । तर, सरकारी बैंकका शाखामा भने २० हजार रुपैयाँसम्म मात्रै साट्न पाइनेछ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार