काठमाडौं । काठमाडौंमा पक्राउ गरिएका ११ जना अफगानी नागरिकलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (युएनएचसीआर)को जिम्मा लगाइएको छ ।

निर्णयपछि उनीहरुलाई युएनएचसीआरले जिम्मा लिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले बताए । २०७८ कार्तिक ८ मा काठमाडौंको सिनामंगलबाट केन्द्रीय अनुसन्धान व्यूरोले ११ जना अफगानीलाई पक्राउ गरेको थियो । रुपन्देहीको सुनौली नाकामा भारतीय आधार कार्ड देखाएर छिरेका उनीहरु सिनामंगलस्थित फेसबुक होटलमा बसेका थिए । तीमध्ये ५ जनाको साथमा मेक्सिकोको भिसा थियो ।

भारतबाट मेक्सिकोको भिसा लिएर उनीहरु नेपाल आएका हुन् । भिसा हुनेहरुमा मोहम्मद जामराई स्टानिकजाई, नाजिफ स्टानिकजाई, मिस्बाह जाइनाव स्टानिकजाई, नोरुल हाया स्टानिकजाई र ८ वर्षका मोहम्मद रायन स्टानिकजाई छन् ।

अध्यागमन विभागले उनीहरुलाई मेक्सिको पठाएको थियो । तर, श्रीलंकाको ट्रान्जिटबाट उनीहरुलाई फिर्ता गरियो । ती ५ जनासहित ११ जना अफगानीलाई अध्यागमन विभागले थुनामा राखेको थियो ।

नयाँ दिल्लीमा भारतीय नागरिकले लिने आधारकार्ड बनाएर उनीहरु नेपाल आएका थिए । आधारकार्ड बनाउने बिचौलिया सक्रिय भएको पक्राउ परेका अफगानीहरुको बयानबाट थाहा भएको छ । अब यूएनएचसीआरले उनीहरुलाई शरणार्थी प्रमाणपत्र दिनेछ । सो प्रमाणपत्र पाएका विदेशीलाई सुरक्षाकर्मीले पक्राउ गर्न पाउँदैनन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार