सांकेतिक तस्विर

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–९ चौधघरे बस्ने ४५ वर्षका पूर्ण घलानलाई पक्राउ गरेको हो ।

घलानले राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने घर (कटेरो)मा राखेर २७ वर्षीया युवतीलाई दुई महिनादेखि बन्धक बनाएको प्रहरीले बताएको छ । काठमाडौं बसेर ज्याला मजदुरी गर्दै आइरहेकी पीडित युवती १० चैतमा भाउजुको घर पिप्ले आएकी थिइन् ।

बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पुर्‍याई दिने भन्दै ललाईफकाई आफ्नो घरमा लगेका थिए । सोही दिन राती घलानले अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार गरेको पीडित युवतीकी भाउजुले दिएको जाहेरीमा उल्लेख छ।

बन्धक बनाइएकी युवतीको स्वास्थ्यमा समस्या देखिएपछि घलानले स्थानीयको सहयोगमा अस्पताल पुर्‍याएका थिए । उपचार पश्चात युवतीलाई जेठ २० गते घलानले आफ्नो घरमा ल्याएर छोडेको उनकी भाउजुले बताएकी छन् ।

महिलाले जेठ २४ गते घलानविरुद्ध किटानी जाहेरी दिएपछि जबरजस्ती करणीको मुद्दा दर्ता गरी घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार