जापान । पछिल्लो समय अन्य देशमा जस्तै जापानमा पनि नेपालीहरुको आगमन संख्या बढिरहेको छ। हालको तथ्याङ्कलाई हेर्दा यतिबेला जापानमा विभिन्न पेशा ,व्यवसाय,विद्यार्थी तथा पारिवारिक भिसामा रहेका नेपालीहरुको संख्या करिब १ लाख भन्दा माथि नै रहेको अनुमान लगाउन सकिन्छ।

हामीले हाम्रो देशमा देखेका, भोगेका र बुझेको भन्दा जापानको रहनसहन तथा नीतिनियमहरु निकै फरक रहेको महसुस गर्न सकिन्छ त्यसैले हामी आफैँ नै केहि हदसम्म परिवर्तन हुन पनि जरुरी रहेको हुन्छ।

पछिल्लो समय जापानमा रहेका नेपालीहरुबाट घटेका विभिन्न घटनाहरुले कतै हामीलाई नै नैतिकताको प्रश्न उठाउदैँ गिज्याइरहेको त छैन यसबारे पनि हामी आफैँ सजग हुने पो होकि ? पछिल्लो समय जापानी मिडियाहरुबाट नेपालीहरुले गरेका केहि राम्रा कामको बारेमा समाचारहरु आएको तथा पुरस्कृत भएको सुन्न पाईन्छ भने कहिलेकहीँ विभिन्न नराम्रा घटनाबारे पनि समाचारहरु आएको सुनिन्छ।

हामी आफ्नो जन्मभुमिलाई छोडेर कर्मभुमिको रुपमा रहदाँ हामीले हाम्रोतर्फबाट जापानमा राम्रो काम गर्दै सकारात्मक सन्देश दिन सकियो भने हाम्रा भाईबहिनिहरुलाई पनि पक्कै सहज अवस्था हुनेछ। नेपाल र जापानको राजनीतिक, आर्थिक तथा कुटनीतिक सम्बन्ध आफ्नो ठाउँमा छ तर यसलाई अझ बलियो बनाउन जापानमा रहेका नेपालीहरुको पनि विशेष भुमिका रहेको हुन्छ।

जापानमा रहेका केहि नेपालीहरुलाई नियम अनुसार तोकेको भन्दा धेरै काम गर्नु बाध्यत्मक परिस्थिति रहेको छ भने अन्य किसिमका घटनाहरु भने लापरवाहीको कारण भएका छन त्यसैले यसबारे पनि हामीले एकपटक राम्रोसँग सोचेर अघि बढ्न जरुरी रहेको छ।

पछिल्लो समय नेपालीहरुबाट भएका विभिन्न घटनाहरु जसले गर्दा हामी नेपालीहरुलाई लज्जित बनाउँदै गएको छ। व्यक्तिगत तथा वैचारिक विमतिको कारण एक–आपसमा झगडा गरी विवादलाई पुलिस केससम्म पुर्याउनुले स्वयम व्यक्तिलाई मात्र नभई सिंगो राष्ट्रप्रति नै आघात पुर्याएको हुन्छ। पछिल्लो समय विभिन्न सार्वजनिक स्थल तथा रेस्टुरेन्टहरुमा नेपाली दाजुभाईहरु नै एक–आपसमा झगडा गरि अपशब्द प्रयोग गरि काटाकाट देखि मार्ने सम्म विभिन्न घटनाका प्रयासहरु भएको पनि देख्न तथा सुन्न पाइन्छ।

अत्याधिक मदिरा सेवन पश्चात एक-आपसमा नै झगडा गरी विभिन्न घटनाहरु निम्त्याउने प्रवृतिले सिंगो नेपालीहरुप्रति नै नकारात्मक सन्देश गएको हुन सक्दछ। कतिपय दाजुभाईहरुले मदिराको मातमा कम्बिनिमा गएर पसलको कर्मचारीलाई नै थर्काउने र होहल्ला गरेको समचारहरु पनि यताकता सुन्ने गरिन्छ। जापानमा यस्ता घट्नाहरुले गर्दा हामी नेपालीहरुप्रतिको छविमा नै दाग त लाग्ने हैन कतै

भिसा तथा काम सम्बन्धि झुटो विवरण

पछिल्लो समय जापानमा विदेशिहरुको बढ्दो संख्यासँगै केहि व्यक्तिहरुको गलत नियतले गर्दा आजभोलि इमिग्रेसन पनि पहिले भन्दा केहि कडा रुपमा प्रस्तुत हुदैँ गएको देखिन्छ। कानुनि नियम अनुसार जापानमा विद्यार्थी तथा पारिवारिक भिसामा रहेकाहरुको लागि हप्ताको २८ घण्टा काम तोकिएता पनि बढि काम गर्ने, नेपालबाट वर्किङ्ग भिसामा आउँदा बिना अनुभवको नक्कली सर्टिफिकेट बनाउने, ठुलो धनराशि दिएर झुटो नाता प्रमाणपत्र बनाएर जापान प्रवेश गर्ने , केहि रकम देखाएर बिजिनेस भिसा लिई अन्यत्र क्षेत्रमा काम गर्ने लगायतका विभिन्न कारणले गर्दा पनि आजभोलि जापानमा स्वयम नेपालीहरुलाई नै नैतिकताले गिज्याईरहेको छ कि भनेर सोच्न बाध्य बनाएको छ।

आत्महत्या सम्बन्धि बढ्दो घटना

पछिल्लो समय जापानमा नेपालीहरुको बढ्दो आत्महत्या एउटा प्रमुख समस्याको रुपमा देखिएको छ जसले गर्दा हामी सम्पुर्ण नेपालीहरु लगायत राष्ट्र माथि नै धमिलो छबि बनाएको हुन्छ। विशेषगरी आत्महत्याका घटना घट्नुका प्रमुख कारण आर्थिक समस्या नै मानिन्छ तर कहिलेकहीँ आफ्नै व्यक्तिगत कारणले पनि घट्ने गरेको सुनिएको छ। यसरी बढ्दो आत्महत्यालाई रोक्नको लागि जापानमा रहेका विभिन्न सामाजिक संस्थाहरुले पनि सचेत गराउन जरुरी रहेको देखिन्छ।

यौनजन्य घटनाका भिडियो तथा समाचार बाहिरिनु

पछिल्लो समय जापानमा नेपालीहरुको केहि यौनजन्य घटनाका विभिन्न भिडियो तथा समाचार आउने गरेको सुनिन्छ।यसबारे सबै सचेत हुन पनि जरुरी रहेको छ।कहिलेकाहीँ आफैले विश्वास गरेका साथिहरु तथा नजिकका आफन्तहरुबाट पनि आन्तरिक मनमुटावका कारण यस्ता घटनाहरु बाहिर आउने गरेको पनि सुनिएको छ साथै पछिल्लो समय बढ्दो लिभिङ टुगेदरले गर्दा पनि यस्ता घटनाहरु निम्त्याएको देखिन्छ। त्यसैले कुनै पनि व्यक्तिसङ्ग सम्बन्धमा बस्नु भन्दा अघि एक अर्कालाई राम्रोसँग बुझेर निर्णय लिई अघि बढ्न पनि जरुरी रहेको देखिन्छ।

विभिन्न राजनीति दलको समर्थन तथा विरोधमा र्यालि प्रर्दशन

कहिलेकहीँ जापानमा नेपालमा भएको राजनीतिक घटनाको आधारमा समर्थन तथा विरोधको र्‍यालि जुलुस गरेको पनि देखिन्छ के यसरी प्रदर्शन गर्न आवश्यक छ त ? साथै यसबाट आउने नतिजाको परिणामले हामीलाई के दिन्छ त ? यसबारे पनि हामी सबैले सोच्न जरुरी रहेको छ। विभिन्न राजनीतिक दलप्रति आस्था राखेपनि हामीले गरेका यस्ता कार्यहरुले कतै हामी नेपालीहरु र नेपालको संस्कृतिलाई नै खिल्लि उडाएको त छैन ?

हामी सबैका आ–आफ्नै सपना र पारिवारिक जिम्मेवारी रहेको हुन्छ। त्यसैले हामी यहाँ रहँदा सम्म एक सचेत नागरिकको तर्फबाट आफ्नो जिम्मेवारी पुरा गर्न सकियो भने नयाँ आउने भाईबहिनीहरुलाई पनि सहज हुन्थ्यो कि ?

जापानमा रहेका विभिन्न पेसा तथा व्यवसायमा आवद्द रहेका व्यक्तिहरु एक(आपसमा सहयोगको भावना बोकेर अघि बढ्न सकियो भने सबैलाई सहज हुनुको साथै सकारात्मक सन्देश पनि प्रदान गर्न सकिन्छ ।

एक अर्काप्रति सम्मानपुर्ण व्यवहार तथा सहयोगको भावना

जबसम्म हामी नेपालीहरु विच एक(अर्कामा सम्मानपुर्ण व्यवहार हुदैन तबसम्म एकरुपता नै आउदैँन । आफुभन्दा पहिले जापान आउनुभएका अग्रज व्यक्तिहरुबाट नयाँभाईबहिनिहरुलाई विभेदपुर्ण व्यवहार हुने गरेको पनि यताकता सुनिन्छ।हामी जापानमा रहेका नेपालीहरुले कुनै पनि किसिमको विभेद नराखि एक (अर्कामा सहयोगको भावना राखि अघि बढ्न अन्त्यन्तै जरुरी रहेको देखिन्छ।

साङ्गठनिक कार्यमा एकता कायम

जापानमा ल्च्ल्ब् देखि लिएर विभिन्न संगठनहरु रहेका छन त्यसैले यिनै सङ्गठनहरु मार्फत भएपनि नेपालीहरुविच एकता कायम हुन जरुरी रहेको छ।जब विभिन्न संघ(संस्थाहरु साङ्गठनिक रुपमा सकृय हुन्छन तब भैपरी रुपमा आउने समस्याहरुलाई पनि समाधान गर्न निकै सजिलो हुन्छ। पछिल्लो समय जापानमा नेपालीहरुको आगमन स्ंख्या बढेसँगै विभिन्न समस्याहरु पनि देखिएका छन त्यसैले नयाँ आएका विद्यार्थी भाईबहिनिहरुलाई लक्षित गरेर सेमिनार कार्यक्रम मार्फत आधारभूत कुराहरु तथा ज्ञानबारे पनि सजग बनाउन जरुरी देखिन्छ।

लुटतन्त्रको अन्त्य गरौँ

सबै नेपालीहरु विच एक आपसमा सहयोगी भावना बढाउनुको साटो सेवाको नाममा जतिसक्दो ठग्ने र लुट्ने मात्र भएको विभिन्न क्षेत्रमा देख्न सकिन्छ। मोबाईल बेच्दा उस्तै छ, रुम खोज्दा उस्तै छ रेस्टुरेन्टमा नेपाली कामदार लिदाँ उस्तै लुटिरहेका छन् । केहि सीमित व्यक्तिमा नहोला तर धेरै व्यक्तिहरुबाट यी कार्यहरु भएकै छन् ।

भर्खर जापान प्रवेश गरेका नयाँ विद्यार्थी भाइबहिनिहरुलाई सेनपाई दाई दिदिहरुबाट नै ठगिने होकि भन्ने डर छ अझ केहि व्यक्तिहरुले त काम लगाईदिने बहानामा दिदिबहिनिहरु माथि नै यौनशोषण गर्न खोज्दै धम्काउदै आफ्नै नैतिकतामा दाग लगाएका पनि छन आखिर यस्तो लुटतन्त्र कहिले सम्म तरु अब तपाईहामी स्वयम नै सजग हुन जरुरी छैन र ?

एउटा नेपालीले गरेको राम्रो कामबाट सम्पुर्ण नेपालीको शीर उच्च हुनुको साथै गर्वकासाथ भन्न सकिन्छ म नेपाली हुँ भनेर्। एउटा नेपालीले गरेको गलत कार्यले सम्पुर्ण नेपालीको शीर झुकेको हुन्छ। त्यसैले मेरो, हाम्रो अनि राष्ट्रको लागि सोचेर अघि बढौँ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार